अन्डरग्राउन्ड ढलसहित सडक बनेपछि वडावासीलाई ठूलो राहत

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १६ को पुलचौकमा ५३ लाखको लागतमा अन्डर ग्राउण्ड नाला सहितको पिसिसि सडक बनेपछि एकसय घर लाभान्वित भएका छन् ।
वर्षाको समयमा प्रायः हिलाम्य बन्ने गरेको सो क्षेत्रमा अन्डर ग्राउण्ड ढल सहित सडक बनेपछि स्थानीयवासी निक्कै खुशी भएका छन् । वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारको सक्रियतामा वडा तथा नगरपालिकाको रकमबाट सो सडक निर्माण भएपछि करिब १ सय घरका १ हजार व्यक्तिलाई प्रत्यक्ष रुपमा लाभ पुगेको छ ।
४ मिटर चौडाई तथा २ सय ९६ मिटरमा अन्डरग्राउन्ड ढल सहित पिसिसि सडकको निर्माण भएको छ । केही नालको ढक्कन लाग्न बाँकी रहेपनि ती काम पनि पुरा हुने वडाध्यक्ष पञ्जियारले जानकारी दिनुभयो ।
त्यसै रकमबाट साबिकमा कायम रहेको ८ फिट गल्लीको २ सय मिटर बाटोमा पिसिसि ढलान भएको छ । वर्षाको समयमा ढलको अभावले सडकमा नै पानी जम्ने समस्याका कारणले स्थानीयवासीलाई घर बाहिर निस्कनमा समस्या भएको वेलामा अन्डर ग्राउण्ड ढलको निर्माण गरेर मूल ढलमा पानीको निकासको व्यवस्था गरिएको छ ।
घनावस्ति रहेको सो क्षेत्रमा पानीको निकास नभएका कारणले कतिपय व्यक्तिको घर आँगनमा पनि वर्षाको पानी जम्ने समस्या रहेका थिए । अन्डरग्राउन्ड नालाको निर्माण भएपछि सो समस्याको समाधान भएको छ । एशियाली विकास बैङ्क, सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भएको ढलमा नै सो ठाउँको ढल जडान गरि पानीको निकासको व्यवस्था मिलाइएको छ ।
वडामा पुराना तथा अधुरा योजनाहरू पुरा गर्नका लागि आफू निर्वाचित भएपछि काम थालेको पञ्जियारले बताउनु भयो । अहिले सो वडामा नाला सहितको सडक बनेपछि स्थानीयवासीलाई ठूलो राहत मिलेको सो क्षेत्रका स्थानीयवासीले जानकारी दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्