श्रीसिया सुख्खा बन्दरगाह भन्सारद्वारा १९ अर्ब ३९ करोड राजस्व असुली

बीरगंज । वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा लक्ष्य भन्दा झण्डै तीन अर्ब रुपैया कम राजश्व असुली गरेको छ ।
राजस्व विभागले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनाको लागि २१ अर्ब ६५ करोड ३८ लाख ६२ हजार राजश्व लक्ष्य ड्राईपोर्ट भन्सारलाई दिएको भए पनि भन्सारले १९ अर्ब ३९ करोड ९१ लाख ३३ हजार राजश्व असुली गरेको छ ।
गत वर्षको तुलनामा राजस्व लक्ष्य ३० प्रतिशतले वृद्धि गरिएको र सवारी साधनतथा इलेक्ट्रिोनिक सामानको आयात कम भएपछि लक्ष्य अनुसार राजस्व असुली हुन नसकेको ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
यस भन्सारले लक्ष्यको ९० प्रतिशत भन्दा बढी राजस्व अगुली गरेको श्रेष्ठले बताउनुभयो । ड्राईपोर्ट भन्सारले भन्सार राजस्व तर्फ आठ अर्ब ५९ करोड ९७ लाख ६० हजार, मूल्यअभिवृद्धि कर तर्फ नौ अर्ब १९ करोड ४१ लाख ४१ हजार, अन्तशुल्क तर्फ एक अर्ब ४९ करोड ३२ लाख ८४ हजार राजस्व संकलन गरेको भन्सारका सूचना अधिकारी जगदिश पर्वेले बताउनुभयो ।
त्यसैगरी सडक सम्भार दस्तुर तर्फ ११ करोड १९ लाख ४८ हजार राजश्व असुली गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्