तपाईँ सुन्दै हुनुहुन्छः

सीमा समस्याका विषयमा सीमाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया

बर्दिबास । नेपाल भारतको सिमानासँग जोडिएको मधेश प्रदेशका वडा अध्यक्षहरूसँग सीमा व्यवस्थापनका विषयमा सशस्त्र प्रहरी बल नेपालले आज छलफल गरेको छ ।

महोत्तरी जिल्लाको छिन्नमस्ता बाहिनी बर्दिबासमा आयोजना गरिइएको “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रममा सीमा क्षेत्रमा भएको समस्या सहितका अन्य विविध विषयहरूमा सिमानासँग जोडिएका विभिन्न पालिकाका वडाध्यक्षहरूले सशस्त्र प्रहरी बलको ध्यानाकर्षण गरेका छन् ।

मधेश प्रदेशका सिमानासँग जोडिएका १४३ वडाध्यहरुलाई सशस्त्र प्रहरीले आमन्त्रण गरेर सीमा व्यवस्थापनको विषयमा पहिलो पटक छलफल गरेको छ । मधेश प्रदेशका ८ जिल्लासँग नेपाल भारतको खुल्ला सिमानाको क्षेत्रफल ४६१.८ किलोमिटर रहेको छ ।

नेपाल भारतको बीचमा विशिष्ट सांस्कृतिक सम्बन्ध रहनुका साथै दुवै देशका नागरिक नागरिकका बीचमा पारिवारिक सम्बन्ध रहेकोले यस प्रदेशको विशिष्टता अनुसार नै सीमाको वैज्ञानिक र व्यवहारिक व्यवस्थापन हुनु पर्ने आवाज उठेको छ ।

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल र वडाध्यक्ष मध्येका सबैभन्दा ज्येष्ठ वडाध्यक्षको रुपमा कार्यक्रममा सहभागी रहनु भएका सप्तरी जिल्लाका तिलाठी कोईलाढी गाउँपालिका वडा नंं १ का वडाध्यक्ष वर्ष ७७ का दिनेश्वर मिश्रले अन्तरक्रियाको संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

सीमा पूर्ण रुपमा खुल्ला भएकाले सशस्त्र प्रहरीलाई सीमाको व्यवस्थापन, अपराध नियन्त्रण, तस्करी, मानव बेचबिखन, लागु औषधको कारोबार नियन्त्रण जस्ता विषयहरू चुनौतीपूर्ण बनिरहेको वेलामा सशस्त्र प्रहरीले आयोजना गरेको कार्यक्रम निक्कै उपयोगी भएको सप्तरी जिल्लाको तिलाठी कोईलाढी गाउँपालिकाको वडा नंं १ का दिनेश्वर मिश्रले प्रतिक्रिया दिनु भएको छ ।  

सीमामा रहेका वडाबाट निर्वाचित भएका वडाध्यक्षहरूले सीमाना क्षेत्रमा हुने गरेको लागु औषधको कारोबार, सेवन, तस्करी, शान्तिसुरक्षा, विकास निर्माणको कार्यमा व्यवधान, सीमाना अतिक्रमण, घरेलु कामका लागि ल्याउने दैनिक उपभोग्यका सामाग्रीमा रोक, सिमानामा आवत जावत गर्दा हुने गरेको समस्या, प्राकृतिक सम्पदाको उत्खनन् सहितका विषयमा ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक वंशीराज दहालले सिमानामा रहनु भएको जनप्रतिनिधिले भोग्नु भएको समस्याका तथा सिमानामा भएको समस्याका बारेमा जानकारी लिनका लागि कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

सशस्त्र प्रहरीका छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले मधेश प्रदेशका जनताहरूको सीमावर्ती भारतीय क्षेत्रका जनताहरूसँगको सांस्कृतिक सम्बन्धको विशिष्टतालाई ध्यानमा राखेर सीमाको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा ८ जिल्लाका सशस्त्र प्रहरीका उपरीक्षकहरू पनि सहभागी रहनु भएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button