त्रिभुवन आर्मी क्लबका राईलाई लिगलिगे राजाको उपाधि

गोरखा । नेपाली सेनामा कार्यरत रहेका खोटाङका गजेन्द्र राई ११ औँ लिगलिगे राजा बन्न सफल हुनुभएको छ । बुधवार पालुङटारमा आयोजित लिगलिगे दौडमा ६९ जनालाई पछि पार्दै राई ११ औ लिगलिगे राजा बन्न सफल हुनुभएको हो ।
राईले चेपेघाटदेखि लिगलिगकोट सम्मको १३.५ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेण्डमा पुरा गर्नुभएको हो । राई त्रिभुवन आर्मी क्लबमा आबद्ध रहनुभएको छ ।
निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सि रावत दोस्रो बन्नुभएको छ । यसअघिका विजेता अनिस थापा यसपटक तेस्रो हुनुभएको छ । निर्धारित दुरी थापाले ५८ मिनेट ३५ सेकेण्डमा पार गर्नुभएको थियो । थापा भारतीय सेनामा कार्यरत रहनुभएको छ ।
दशैका बेला दौड जितेर लिगलिगको राजा बन्ने परम्परा कायम राख्न लिगलिग बिकास अभियानले बिगत १५ वर्षदेखि लिगलिगे दौडको आयोजना गर्दै आएको छ । कोभिडका कारण विगत तीन बर्ष हुन नसकेको दौडले यस बर्ष निरन्तरता पाएको आयोजक लिगलिग विकास अभियानका अध्यक्ष सञ्जीव राना मगरले बताउनुभयो ।
विजेता राईले एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र गरेका गर्नुभएको छ ।
दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागिता रहेको थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो । नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्