तपाईँ सुन्दै हुनुहुन्छः

संविधान कार्यान्वयनको चुनौती बाँकी छ : उपप्रधान खड्का 

भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनको चुनौती बाँकी रहेको बताउनुभएको छ ।

बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

संविधान जारी गर्दा दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया बाँकी रहेको उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री  खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार हुने हो कि भन्ने चिन्ता रहेको बताउनुहुँदै संविधान संशोधन मार्फत संविधानलाई पूर्णता दिन सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ,‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,संविधानलाई भड्काउने कोसिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।’

उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसको काँधमा स्थानीय तहदेखि केन्द्रसम्मै मुलुकको नेतृत्व गर्ने र जनतामा छाएको निराशलाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती रहेको बताउनुभयो ।

जनप्रतिनिधिले स्वार्थभन्दा माथि उठेर काम गरे देखापरेका चुनौतीमाथि जीत हासिल गर्न सकिने बताउँदै अरूलाई दोष दिएर मात्र दोषमुक्त हुन नसकिने उल्लेख गर्नुभयो ।

पार्टीभित्र संवाद र छलफलबाट विभिन्न प्रकारले उत्पन्न भएका द्धैष र रिस रागलाई समाधान गर्न सकिने उहाँको भनाई थियो ।

कांग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्ति पछिको घमण्ड र अहङ्कार गर्न नहुने बताउनुभयो ।

उहाँले काँग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोली वचनमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

हरेक दिन पार्टीका गतिविधि आम जनताले नियाली रहेको र मतदाताले हरेक पल परीक्षा लिइरहेको भन्दै पार्टीपंक्ति सच्चिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँ, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा लगायतले पार्टीको गौरवपूर्ण बिगत र भरोसायुक्त भविष्य रहेको बताउनुभयो ।

बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेश अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

एकदिने प्रशिक्षण कार्यक्रममा सहभागीलाई प्रशिक्षकहरू डा.सुरेश आचार्य, प्रा.कृष्ण खनाल , डा.खिमलाल देबकोटा, डा.बुद्धिमान श्रेष्ठले प्रशिक्षण दिँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button