नेपाली कांग्रेस जनताको सुख दुःखको साथी : उपसभापति खड्का
जाजरकोट । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली काँग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुहुँदै जनताको मतको सम्मान गर्दै काँग्रेसले सबै जनताको सुख दुःखको साथी भएर काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहनुभएका खड्काले नेपाली काँग्रेसभित्र रुपान्तरणको कुरा चलिरहेको विषयलाई सङ्केत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा काँग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैँबाट सुधारको सुरुवात गर्नु नै पार्टीको सही रूपान्तरण हुनेमा जोड दिनुभयो ।

उपसभापति खड्काले आफूले गर्ने हरेक काम, आफ्ना प्रतिबद्धता र जनतासमक्ष देखाउने व्यवहारमा नेपाल, नेपाली जनता र मतदाताको हित चिताएर काम गरे काँग्रेसमा सकारात्मक रूपान्तरण हुने बताउनुभयो । उहाँले नेपाली काँग्रेसमा कर्णाली प्रदेश त्यसमा पनि जाजरकोट कांग्रेसको ठूलो योगदान रहेको बताउनुभयो ।
खड्काले तीनवटै तहका निर्वाचित जनप्रतिनिधिलाई परिवारवाद, नातावाद र भ्रष्टाचारबाट टाढा रहेर नेपाल र नेपाली जनताको हित चिताएर मात्र काम गर्न निर्देशन दिनुभयो । सबै तहमा कांग्रेसका उम्मेदवारलाई जिताउन आम मतदाता र कांग्रेस कार्यकर्ताले ठूलो मेहनत, त्याग र समर्पण गरेको भन्दै मतदाताको चित्त दुख्ने कुनै काम नगर्न पनि खड्काले आग्रह गर्नुभयो ।

बदलिँदो युग र प्रविधिको विकासले सबैका गतिविधि जनताले नजिकबाट नियालिरहेको भन्दै उपसभापति खड्काले इमानदारिताका साथ काम गरे बिकास, सामाजिक न्याय र सुशासन चाहने जनताको अपेक्षा पूरा गर्न सकिने उल्लेख गर्नुभयो ।
मुलुकमा अहिलेसम्म भएका लोकतान्त्रिक आन्दोलन र अधिकारको लडाइँ काँग्रेसकै नेतृत्वमा भएको भन्दै उपसभापति खड्काले परिवर्तनको रक्षा गर्ने जिम्मेवारी पनि काँग्रेसकै भएको बताउनुभयो । नेपाली काँग्रेसले अबलम्बन गरेको राजनीति सिद्धान्तप्रति कसैको गुनासो नभएको पनि नेताहरूको कार्यशैली र व्यवहारप्रति गुनासो रहेको भन्दै खड्काले जनतालाई मन नपरेको जीवनशैली बदल्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्