तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आफ्नो १६ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तीकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउनुभयो । 

राष्ट्रपति पौडेलले धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिएपनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताउनुभयो ।

जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको बताउँदै राष्ट्रपति पौडेलले आगामी दिनमा महिला आयोगले त्यसमा अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरू समेटेर जुन प्रतिवेदन पेश गरेको छ, त्यसमा उठाइएका महत्वपूर्ण विषयहरूलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाहरूको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक रहेको समेत बताउनुभयो । 

आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले गरेका काम कारबाहीका बारेमा जानकारी दिँदै महिला हक अधिकारको संरक्षण तथा हिंसा पीडित महिलालाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button