नेपाल–भारत जोड्ने झुलाघाट पुल मर्मत कार्य जारी

बैतडी । भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट पुल दसैँ अगाडी नखुल्ने भएको छ । ४५ दिनको ठेक्का लिएर ९ असोजदेखि काम सुरु गरेको भारतीय निर्माण कम्पनीले दसैँ अगाडी निर्माण सम्पन्न नहुने जनाएको छ ।
निर्माण कम्पनीले एक महिनाभन्दा बढी समय लाग्ने बताइसकेको र दसैँ अगाडी पुल पूर्णरुपमा खोल्न नसकिने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शङ्कर बोहराले जानकारी दिनुभयो । अहिले समय तालिका अनुसार आवतजावतका लागि पुल खुला भइरहेकाले धेरै प्रभाव नपर्ने उहाँको भनाइ छ ।
पुल बिहान सवा ६ बजे खुल्ने र पौने ९ बजे बन्द गर्ने गरिएको छ । त्यसपछि दिउँसो १ बजे खोलेर २ बजे बन्द हुन्छ । त्यसपछि पनि ४ बजे खोलेर राती सवा ७ बजे बन्द गर्ने गरिएको छ ।

जीर्ण बनेको झुलाघाटको पुलका सबै काठ फ्ल्याक र फलामका सबै रडहरू बदल्ने काम भइरहेको छ ।
एक सय वर्ष पहिला पनि भारतले निर्माण गरेको झुलाघाट पुल जीर्ण बनेको थियो । काठहरू कुहिएका थिए भने फलामका रडहरू पनि खिया लागेका थिए ।
अहिले काठ र फलाम फेरिन लागिएको छ । सबै काठ र फलाम बदल्ने कार्य जारी रहेको झुलाघाट प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरीक्षक जय सिंह भाटले जानकारी दिनुभयो ।
पूर्व निर्धारित समय अनुसार पुल खोल्ने र बन्द गर्ने कार्य भइरहेकाले दसैँका लागि घर फर्किने नेपालीहरूमा धेरै प्रभाव नपरेको उहाँको भनाई छ ।
सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा समेत छलफल भएको थियो ।
झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्