विश्व शान्तिको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने

कास्की । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।
परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा यस वर्ष विश्वमा भइरहेको युद्ध तथा प्राकृतिक प्रकोप वाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताउनु भयो ।

घटस्थापनाको दिन असोज २८ गते विधिवत् रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कबज हुने धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापूर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।
यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरिने त्रिपाठीले बताउनु भयो । बडा दशैंको फूलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली मन्दिर प्रवेश गराएर नवपत्रिको तान्त्रिक पूजा गरिने प्रचलन रहेको छ भने फूलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

अष्टमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली दिने प्रचलन रहेको छ । दशीमा मन्दिरका टिका ग्रहण गरी वास्पानीकालीका फुलपत्र सहित विर्सजन गरिने परम्परा रहेको छ । वडा दसैँमा यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।
कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने समितिका मन्दिरका अमाली खिम बहादुर कार्कीले बताउनुभयो ।

यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्