ठुलो परिमाणमा पटाका बरामद
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम बाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासी स्थित कमान्ड पोस्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।

भारतबाट महेसपुर भन्सार नाका हुँदै भित्र्याइएको पटका बिक्रीका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो । कमान्ड पोष्टका सशस्त्र प्रहरी निरीक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तीव्र गतिमा रहेको पिकअपलाई शङ्का लागी चेकजाँच गर्ने क्रममा पटाका फेला परेको डिएसपी साउदले बताउनुभयो ।
बरामद पटका प्रहरीले आजै नष्ट गरेको छ भने पिकअप जिपलाई महेसपुर भन्सार कार्यालयमा बुझाइएको छ । सवारी चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिए पनि उनी पछि भाग्न सफल भएका छन् । गुप्ताकै सुराकीको आधारमा महेसपुर बजार क्षेत्रको सम्भावित स्थानमा थप पटाका रहेको आशङ्कामा छापा मार्न गएको प्रहरी टोली र स्थानीय बिच तनावको अवस्था सृजना भएपछि गुप्ता भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
महेशपुरमा अवैध रुपमा पट्का भित्र्याएको सूचनाको आधारमा प्रहरीले छापा मार्ने कोसिस गरेपनि स्थानीय प्रहरी माथि नै जाइलागेपछि प्रहरी पछाडि हटेको थियो । पछि सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले थप खानतलासी गरेपनि कुनै समान फेला नपरेको बताइएको छ ।
चाडपर्व नजिकिएसँगै भारतबाट पटका लुकाइछिपाई भित्र्याउने र विभिन्न शहरमा बिक्रीका लागी लाने गरिएकाले प्रहरीले चेकजाँच बढाएको छ । सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर सिमावर्ती क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्