तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन आज, १८ सिटका लागि निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले  बिहीबार बिहान १०–४ बजेसम्म मतदान हुने जनाएको छ ।

आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ ।

आयोगका अनुसार, निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button