लप्ची–रामुदिङ नाका खुलेपछि दशैंको जोहो सुरु
दोलखा । चीनसँग सिमाना जोडिएको दोलखाको लप्ची–रामुदिङ नाका औपचारिक रुपमा खुला भएपछि विगु गाउँपालिका १ लप्चीका स्थानीयले दशैंको लागि खाद्यान्न जोहो सुरु गरेका छन् ।

लप्चीवासिको समस्या बुझेर स्थानीय स्तरमा समझदारी कायम भएपछि असोज ११ गते बिहीबारबाट नाका खुला भएको स्थानीय कर्मा शेर्पाले बताउनुभयो । ‘असोज ११ गते बिहीबार तिब्बतको ङ्यालम स्थित टाँसिघाङबाट केही खाद्यान्न र दैनिक उपभोग्य सामग्री आएको छ’ स्थानीय कर्मा शेर्पाले भन्नुभयो । लप्चीबासीले असोज १३ गते शनिवार केही चौरी, घ्यु र छुर्पी टाँसिघाङमा लगेर बिक्री वितरण गरेको कर्माको भनाई छ ।
कोरोना महामारी पछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीय आर्थिक रुपमा समस्यामा परेका थिए । सङ्घीय सरकार, स्थानीय सरकार र स्थानीय लप्चीवासिले समेत नाका खुलाउन पटक– पटक पहल गर्दा समेत सम्भव नभएपछि धेरै विस्थापित हुने अवस्था बनेको थियो ।
दशैंको पूर्व सन्ध्यामा नाका खुला भएपछि अहिले लप्ची वासिले निक्कै राहत महसुस गरेको स्थानीय फुजुङ शेर्पाले बताउनु भयो । अब दशैंको लागि किनमेल गर्न र आफ्ना चौरी तथा घ्यु र छुर्पी बिक्री वितरण गर्न निक्कै सहज भएको फुजुङको भनाई छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आधिकारिक रुपमा चीन सरकारले दोलखासँग सीमा जोडिएको दुई नाका खुला गर्ने निर्णय गरेको भए पनि त्यसमा लप्ची नाका नपरेको तर स्थानीय स्तरमा समझदारी भएपछि त्यहाँ आवागमन र किनबेच खुला भएको जानकारी दिनुभयो । दोलखा प्रशासनले पनि लप्ची नाकालाई आधिकारिक रुपमा खुला गरिदिन गृह मन्त्रालय मार्फत चीन सरकारलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।
दोलखासँग तिब्बतको सिमानामा ५५ देखि ६१ नम्बरसम्मको पिलर रहेको र लप्ची–रामुदिङ नाका ५५ र ५६ नम्बरको बीचमा पर्ने पनि प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो । चीन सरकारले नेपालसँग सिमाना जोडिएको १४ वटा नाका खुला गर्दा दोलखासँग जोडिएको ६० र ६१ नम्बरको पिलरको बीचमा पर्ने फलाकको रोङसिया र क्वादम नाका खोल्ने निर्णय गरेको थियो । लप्चीवासिको आर्थिक एवं व्यवसायीक कारोबारको लागि लप्ची–रामुदिङ नाका आवश्यक भएकोले स्थानीय प्रशासनले सोही अनुसार चीन सरकारलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।
लप्चीबासीलाई नेपाल पट्टी आफ्नो पालिकाको सबैभन्दा नजिकको बजार लामाबगर आउन झण्डै दुई दिन लाग्छ । तर, चीनको तिब्बत स्थित सिगात्से जिल्ला, ङ्यालम काउन्टीमा पर्ने टाँसिघाङ बजार पुग्न पाँच घण्टा लाग्ने स्थानीयको भनाई छ ।

लप्चीका स्थानीयलाई तिब्बतको रामुदिङ हुँदै छुपसाङ पुग्न पैदल दुई घण्टा लाग्ने र त्यहाँबाट तीन घण्टामा सवारी साधन मार्फत टाँसिघाङ पुग्न सकिने स्थानीय कर्मा शेर्पाले बताउनुभयो ।
विगु गाउँपालिका वडा नम्बर– १ लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसङ्ख्या रहेको छ । लप्चीका स्थानीयसँग झण्डै ७/८ सयवटा चौरी, केही धार्नी घ्यु र छुर्पी बिक्रीको लागि तयारी अवस्थामा रहेको भए पनि सोचे जति दाम नआएपछि अहिले स्थानीयले थोरै मात्र चौरी लगायतका उत्पादन बिक्री गरेको स्थानीयको भनाई छ ।
तिब्बतको टाँसिघाङमा पुर्याइएको चौँरीको बाच्छा प्रतिगोटा २७ हजार, चौरी प्रतिगोटा ४५ हजार र याक तथा ठूलो चौरी प्रतिगोटा ९० हजारसम्ममा बिक्री गरिएको स्थानीयले बताए ।






प्रतिक्रिया राख्नुहोस्