वाग्मतीमा दोस्रो आयाम शैक्षिक मेला हुँदै
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा रहेको कालीदेवी माध्यमिक विद्यालयमा दोस्रो आयाम शैक्षिक मेला हुने भएको छ । गाउँपालिकाको एकल आयोजनामा यही माघ १८ गते विद्यालयस्तरीय विज्ञान, प्रविधि र कला प्रदर्शनी मेला हुन लागेको हो ।
सो मेलामा बालबालिकाले कक्षामा सिकेका र आफँैले सिर्जना गरेका कुरालाई व्यवहारमा उतार्न पाउने तथा अन्य विद्यालयका बालबालिकासँग सहकार्य बढाउने वातावरण सिर्जना हुने कालीदेवीका प्रधानाध्यापक कुमार चौँलागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माघ १७ गते सहभागी अन्य विद्यालयका विद्यार्थी र शिक्षक यहाँ आउने कार्यक्रम रहेको छ भने माघ १८ गते बृहत मेला हुने छ । यस गाउँपालिकामा रहेका कूल ४७ सामुदायिक विद्यालयमध्ये मेलामा छ आधारभूत र १० माध्यमिक तहका गरी १६ विद्यालयका बालबालिकाले भाग लिने छन् ।”
गाउँपालिका गठन भएपश्चात यहाँको शैक्षिक सुधार गर्ने ध्येयका साथ हरेक वर्ष मेला आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस मेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत केही शिक्षकलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले यस मेलालाई बृहत बनाउन र सम्मानका लागि रु छ लाख रकम विनियोजन गरेको लोप्चनले जानकारी दिनुभयो ।
सो मेलामा ६० बढी प्रदर्शनीकक्ष रहने र एउटा विद्यालयको विद्यार्थीले ३ देखि ४ कक्षा राख्न पाउने छन् । कालीदेवीका ४०० विद्यार्थी र अन्य सहभागी विद्यालयका २०० विद्यार्थी, शिक्षक, अभिभावक गरी मेलामा करीब एक हजार मानिस उपस्थित रहने यस गाउँपालिकाका प्रेस सल्लाहकार दीपक घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्