कामपाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो ।
कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । अनुगमन समितिको संयोजक समेत रहनुभएको सुनिता डङ्गोलको संयोजकत्वमा कृषि तथा पशुपन्छी विभाग, पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोका लगायत चौपायाको परीक्षण गरिने कामपा कृषि विभाग प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।
डा झाका अनुसार खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने तयारी रहेको छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उहाँले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्नुभयो ।
उक्त समयमा कामपाले चौपाया बिक्री स्थान, मासु पसल र वधशाला लगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ ।
बजारलाई थप व्यवस्थित गर्न कामपाले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ देखि नियमित अनुगमन गर्दै आएको छ ।
बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगर सभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमन तथा सुपरिवेक्षण समितिले गर्नेछ ।







प्रतिक्रिया राख्नुहोस्