तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको छ : मन्त्री नेम्वाङ

कञ्चनपुर । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले भौतिक पूर्वाधार निर्माणको कार्यले तीब्रता पाएको बताउनुभयो । उहाँले अमेरिकी सरकारको सहायता कोष (एमसीसी)बारे अमेरिकी दुतावासले प्रष्ट पारिसकेकोले यस विषयमा टिकाटिप्पणी गरेर अन्यौलता सृजना गर्न नहुने बताउनुभयो ।

यस्तै, मन्त्री नेम्वाङले महाकाली नदिमा निर्माणाधिन चार लेनको पक्की पुलको निर्धारित समयमै काम सम्पन्न हुने दावी गर्नुभएको छ । अहिलेका केही अवरोधहरुलाई यहाँका जनप्रतिनिधिसहित बसेर टुंग्याइने बताउनु हुँदै उहाँले महाकाली पुल निर्माण भइसकेपछि अन्तरदेशीय सम्बन्ध बिस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री नेम्वाङले कञ्चनपुर जिल्लाका सबै पालिकाहरुलाई सडक सञ्जालसँग जोड्नका लागि १६ वटा तराई–मधेस पूर्वाधार सडक निर्माण भइरहेको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button