तपाईँ सुन्दै हुनुहुन्छः

लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौँ । लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ पत्रकार सम्मेलन गरी जनाएको हो ।

मोफसलमा रहेर पनि नेपाली सिन जगत्को संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलबाट पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको हो । अवार्डका लागि आयोजकले आज उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

काठमाडौँबाट आज मनोनयनमा पर्न सफल १० विधाको सार्वजनिक गरिएको हो । उक्त १० विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा गरिने बताउनुभयो ।

अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय एवं वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर रहनुभएको छ ।

विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button