तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’

काठमाडौँ । पत्रकार महिलाको सहभागिता र व्यावसायिक दक्षता वृद्धिका लागि सूचना प्रविधिको पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ ।

प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘पत्रकार महिलाको अवस्था, समस्या र समाधानका उपाय’ कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सञ्चार क्षेत्र महत्त्वपूर्ण क्षेत्र भएकाले सञ्चार माध्यमले महिला पत्रकार नेतृत्व तहमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारको अवस्था, समस्या केके छन् र समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले काउन्सिलले महिला पत्रकारको सशक्तीकरणका लागि विभिन्न प्रदेशमा तालिम/प्रशिक्षण दिने तयारी भएको जानकारी दिनुभयो ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिल बोर्डका सदस्य शङ्कर नेपालले संविधान र कानुनले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै व्यावसायिकता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले श्रम शोषण पत्रकारिता क्षेत्रमा हुँदैन भनेर स्थापित गर्दै सञ्चार गृहमा महिला सम्पादक बनाउन जरुरी रहेको बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले सूचना प्रविधिको अत्यधिक विकास, कोभिड महामारी र आर्थिक मन्दीले गर्दा सञ्चार माध्यममा समस्या देखिएको उल्लेख गर्दै श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले सूचना प्रविधिमा महिलाको पहुँच वृद्धि गर्दै नेतृत्व तहमा महिला पत्रकारलाई पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

सहभागी महिला पत्रकारहरूले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सूचना प्रविधिसम्बन्धी तालिम, व्यावसायिक सुरक्षा र क्षमता अभिवृद्धिमा काउन्सिलले काम गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button