तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा दुई छुट्टाछुट्टै घटनामा बालकको मृत्यु

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर दुई बालक मृत्युको घटनाले तनावग्रस्त बनेको छ ।

वीरेन्द्रनगर–३, फोरलेन सडकखण्डको यरिचोक–मूलपानी खण्डको गोकुल कटेजनजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर–३, भैरव स्थानमा मामाको घरमा बसेर पढ्दै आएका ५ वर्षीय बालक टुकदर्शन गिरीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

मोटरसाइकलबाट गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार रहेका छन् ।

मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडि र गोकुल कटेज नजिकैको फोरलेन सडक बालकका अवरुद्ध गरेका छन् ।

यस्तै वीरेन्द्रनगर–६, स्थित उषा बालवाटिका बोर्डिङ स्कुलको छात्रावासमा ८ वर्षीय बालक सलाम पुलामी मृत फेला परेका छन् । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका कक्षा दुई मा पढ्ने पुलामी छात्रावासको सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटना शङ्कास्पद भएको भन्दै छानबिनको माग राखेर आफन्तहरुले शव उठाउन दिएका छैनन् । आफन्तहरुले होस्टेल बाहिर तोडफोड गरेका छन् । त्यस क्रममा प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । घटना भएको आसपास क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले स्कुल व्यवस्थापन पक्षका केही व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button