बजार अनुगमन थप प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कालोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भएको जनगुनासो बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बन्धित अधिकारीहरूसँग बजार अनुगमनको अवस्थाबारे जानकारी समेत लिँदै उक्त निर्देशन दिनुभएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, निमित्त मुख्य सचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरू सहभागी हुनुभएको थियो ।
बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गर्नुभयो ।
उहाँले चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महङ्गीको चपेटामा पर्ने अवस्था सृजना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाउँदै नागरिकले राहतको अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।
बजार अनुगमन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन थप सहयोगका लागि संघीय सरकार तयार रहेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले बजार अनुगमनमा प्रदेश र स्थानीय सरकारसँग समेत समन्वय गर्न निर्देशन दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले हरेक दिन के कति बजार अनुगमन भयो र दोषी देखिएकालाई के कारबाही भयो भनेर जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध मिलाउन पनि सम्बन्धित अधिकारीहरूलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्