छाउप्रथा अन्त्यका लागि सरकार प्रतिवद्ध : मन्त्री गुरुङ्ग

दैलेख । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले कर्णाली र सुदुरपश्चिम प्रदेशमा छाउप्रथा कायमै रहनु नेपालका लागि लज्जास्पद भएको बताउनुभएको छ ।
छाउ प्रथाको अवस्थावारे अनुगमनका क्रममा कर्णालीको भ्रमणमा रहनु भएका मन्त्री गुरुङ्गले छाउगोठ भत्काएपनि मनभित्रको छाउगोठ उस्तै रहेको वताउनुभयो ।
दुल्लु नगरपालिकाद्धारा आयोजित ‘छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी पर्वद्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङ्गले अन्धविश्वास र सामाजिक कुरितिको रुपमा रहेको छाउप्रथा सरकारले अन्त्य गरेरै छोड्ने दावी गर्नुभयो । त्यसका लागि तीनै तहका सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको मन्त्री गुरुङ्गको भनाई छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले छाउपडी विरुद्ध सरकार गम्भिर भएर लागि परेको बताउनुभयो ।
देवी देवता मान्ने सोचबाट गलत संस्कार र संस्कृति कायमै रहेको बताउँदै राज्यमन्त्री रावतले आम जनताको पक्षमा सरकारले कुनै पनि काम गर्न पछि नहट्ने वताउनुभयो । कार्यक्रममा प्रतिनीधि सभाका सांसद राजबहादुर बुढाले दैलेखमा रहेको छाउपडी प्रथाकै कारण आफुलाई लज्जाबोध भईरहेको बताउनुभयो ।
महिनावारी हुँदा महिलाहरुलाई छुवाछुत गरिन्छ, विभेद गरिन्छ भनेर अन्य मुलुकमा नसुनिने तर नेपालमा मात्रै यस्तो हुने कुराले आफुहरुलाई लज्जावोध भैरहेको उहाँले वताउनुभयो ।
कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्मा, पार्वती कुमारी विशुंखे, गंगा चौधरी, हिरा गुरुङ्ग लगाएतले अन्धविश्वास र कुरितको रुपमा रहेको छाउप्रथा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्