तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छुः मन्त्री बस्नेत

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका चिकित्सकसँग पढ्न विदेशी चिकित्सक आउने । नेपालका नेताहरु उपचारका लागि विदेशिने ?’ अहिले सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि विदेश पठाउने नीति बन्द गरेको बताउँदै उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रको बेथिति नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको छ ।’ स्वास्थ्य क्षेत्रमा जनताको आक्रोश रहेकाले सबै मिलेर यसलाई सुधार गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।

उपचारको अभावमा कोही नेपाली मर्नु नपर्ने गरी सरकारले काम गरेको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको बताउनुभयो । शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उहाँले संविधानमा लेखिएको कुरा निःशुल्क गर्दै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीले शुल्क तिर्न नसकेर आत्महत्या गर्नुपर्ने र बिरामीले उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम फाल्नुपर्ने अवस्था अन्त्य गर्न सरकार लागेको छ ।’ गरिब विपन्नले औषधि उपचार नपाएर मर्नुपर्ने बाध्यता नहुने उहाँको भनाइ थियो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘तपाईंहरु अस्पताललाई उत्कृष्ट बनाउनुस् । विस्तारको काममा सरकारले सहयोग गर्छ ।’ बजेट अभाव भयो भनेर पछि हट्ने काम गर्न नहुने उहाँको भनाइ थियो । सरकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने भन्दै उहाँले अहिले गाउँगाउँमा चिकित्सक पु¥याउने अभियान चलाइएको जानकारी दिनुभयो ।

सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सुधारका लागि सबै क्षेत्र गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । अस्पतालमा सुशासन, पारदर्शीता र जवाफदेहिता हुनसके जनगुनासो कम हुँदै जाने उहाँले बताउनुभयो ।

‘पछिल्ला समय राज्यप्रति वितृष्णा जगाउन चिकित्सकमाथि आक्रमण हुने गरेको छ’, उहाँले थप्नुभयो, ‘छिटपुट घटनाले स्वास्थ्य संस्थामा अराजकता बढ्न थाल्यो । आन्दोलनको स्वरुप परिवर्तन गर्नुस् ।’ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालबाट दिइने सेवालाई अझै व्यवस्थित गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । सेवा विस्तारका लागि सङ्घीय सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका अवसरमा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो भने अस्पतालका चिकित्सक कर्मचारीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । दिवसकै अवसरमा आज बिहान भरतपुरको चौबीसकोठीदेखि अस्पताल प्राङ्गणसम्म म्याराथुन दौड आयोजना गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button