तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा देखिएको अराजक गतिविधिविरुद्ध वीरगंजमा बृहत् सद्भाव र्‍याली 

वीरगञ्ज । मधेश प्रदेशको सर्लाही, पर्सा लगायतका जिल्लाहरूमा विगत केही दिन यता देखिएका अराजक गतिविधिका विरुद्ध आज वीरगंजमा वृहत् सद्भाव र्‍याली निकालिएको छ । वीरगंज महानगरपालिकाको आयोजनामा निस्किएको सद्भाव र्‍यालीमा हजारौँको सङ्ख्यामा नगरवासी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, उद्योगी व्यवसायी, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, शिक्षक, अधिकारकर्मी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

धर्म र जातियताको नाममा सदियौँदेखि एकताबद्ध भएर बसेका मधेशका जनतालाई विखण्डन गर्ने उद्देश्यले   केही तत्त्वहरू सक्रिय भएको भन्दै वीरगञ्जमा बृहत् सद्भाव र्‍याली निकालिएको हो । वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्‍यालीले वीरगञ्ज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद एवं पूर्व बनमन्त्री प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्ने कुरामा जोड दिनुभयो । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उहाँले सुझाव दिनुभयो । 

उहाँले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृङ्खल गतिविधिको भर्त्सना समेत गर्नुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि वीरगन्जवासी सचेत छन् भन्ने सन्देश आजको र्‍यालीले दिएको बताउनु भयो ।

उहाँले पछिल्लो समयमा धार्मिक गतिविधिको नाममा अतिवाद बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै समाजलाई भाँड्ने तत्त्वहरूको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । हिन्दु, मुस्लिमबीच द्वन्द्व गराउने जातियताको नाममा मधेशी र पहाडी समुदायबिच विखण्डन गराउने तत्त्वहरू प्रति सचेत रहँदै यस्तालाई अब वीरगन्जवासीले नै प्रतिकार गर्ने चेतावनी समेत दिनुभयो । 

नगर परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको  सद्भाव र्‍यालीले निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्त्वलाई कारबाही गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले ज्ञापनपत्र तत्काल गृह मन्त्रालय मार्फत मन्त्री जीलाई उपलब्ध गराइने बताउनु भयो ।  

सद्भाव र्‍यालीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, बीरगंज महानगरपालिकाका नगर प्रमुख सिंहसँगै उपप्रमुख इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, नेकपा एमाले पर्साका इन्चार्ज डा.विश्वम्भर शर्मा, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, ईश्वरचन्द्र यादव, मनोज चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button