तपाईँ सुन्दै हुनुहुन्छः

गन्तव्य मुलुकहरूमा सरकार–सरकार बीचको श्रम सम्झौता अनिवार्य गर्न माग

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले विभिन्न १२ श्रम गन्तव्य मुलुकका राजदूतसँगको छलफल वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न फलदायी हुने बताउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित १२ श्रम गन्तव्य मुलुकका राजदूतसँगको छलफलमा श्रम आप्रवासनका सवालमा २० वटा शीर्षकमा नीतिगत निर्णय गरिएको जानकारी दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्न कूटनीतिक पहल गर्ने, माग प्रमाणीकरण लगायत सेवा सहजीकरण गर्ने, परराष्ट्र मन्त्रालयमा श्रम आप्रवासन महाशाखा स्थापना गर्ने, डिजिटल प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताउनुभयो ।

मन्त्री भण्डारीले गन्तव्य मुलुकको नियोगमा कल्याणकारी कोष खडा गरी राहतमा लगाउने, कोमामा उपचाररत नेपालीलाई नेपालमा ल्याई उपचार गर्न, विदेशमा मृत्यु भएकाको शव व्यवस्थापन सरकारको कोषबाट गर्ने लगायतका नीतिगत निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले श्रम गन्तव्य मुलुकका राजदूतसँगको छलफलपछि भएका निर्णय कार्यान्वयनको प्रक्रिया, वैदेशिक रोजगारीमा रहँदा भोग्नुपर्ने भाषागत समस्या हटाउन पहल गर्नुपर्ने, सबै गन्तव्य मुलुकहरूमा सरकार–सरकारबीचको द्विपक्षीय श्रम सम्झौता अनिवार्य गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button