तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा क्यासिनो सञ्चालनमा आउन सुरु

पोखरा । पर्यटकीय नगरी पोखरामा क्यासिनो सञ्चालनमा आउन सुरु भएको छ । पोखरामा केही बर्ष अघि पाँच तारे होटल फूलबारी रिसोर्ट र होटल ग्राण्डमा सञ्चालन आएको क्यासिनो विगत केही बर्ष देखि सञ्चालन हुन नसकेको अवस्थामा हाल पोखरामा माउन्ट कैलाश रिसोर्टबाट क्यासिनो सञ्चालन भएको छ । 

केही दिन अघि अनौपचारिक रुपमा सञ्चालनमा आएको माउण्ट कैलाशको क्यासिनोले यही असोज १२ गते विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गर्ने आन्तरिक तयारी गरेको श्रोतको भनाई रहेको छ । रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालिले उद्योग विभाग दर्ता गरी पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त भएसँगै उक्त क्यासिनो हाल सफ्ट ओपनिङको रुपमा सञ्चालन गरिएको श्रोतले जनाएको छ । 

माउण्ट कैलाश सहित पोखरामा थप दुई वटा होटलहरुले समेत क्यासिनो सञ्चालनको लागि उद्योग विभागमा अनुमति लिएका छन्। पोखरामा मित्र राष्ट्र भारत र चीनका पर्यटकलाई लक्षित गर्दै उक्त क्यासिनो सञ्चालन गर्न लागिएको सञ्चालनहरूले बताउनुभएको छ । माउन्ट कैलाशमा हाल ८० वटा रुम रहेका छन् भने रिसोर्ट २००९ सालदेखि सञ्चालनमा आएको हो । उक्त क्यासिनो सञ्चालनको लागि २० करोड भन्दा बढी लगानी भएको प्रा.लि.को दाबी छ । 

नेपाली लगानी रहने क्यासिनोमा २ सय जना भन्दा बढीले रोजगार प्राप्त गर्ने छन् भने उक्त क्यासिनोमा नेपालीहरूलाई खेल्न प्रतिबन्ध गरिएको हुन्छ । हालका चार चारे होटलको रुपमा रहेको माउण्ट कैलाशमा मिनि क्यासिनोको रुपमा सञ्चालन भएको हो ।  

पोखरामा क्यासिनो सञ्चालन गर्नेगरि भेन्टनम इन्टरनेशनले प्रालि र प्लेजर नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ । 

पोखरा ६ मा रहेको हेरिटेज होटल एण्ड स्पाःमा सञ्चालन हुने गरि भेन्टनम इन्टरनेशन प्रा.लि. र पोखरा लेकसाइडमै रहेको होटल सरोवरमा प्लेजर नेपाल प्रा.लि.ले उद्योग विभागबाट क्यासिनो सञ्चालनको अनुमति दिएका छन् । माउण्ट कैलाश पछि अब पोखराका दुई होटलहरुमा पनि केही समय पछि क्यासिनो सञ्चालनको गृहकार्य भएको बताइन्छ । 

यसैबिच पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा क्यासिनो सञ्चालन हुनुले क्यासिनो खेल्न चाहने पर्यटकहरूको लागि पोखरामा उपयुक्त गन्तव्य हुने दाबी गर्नु भयो । पोखरामा पर्यटकीय धेरै गन्तव्य त्यसको साथमा क्यासिनो खेल्ने वातावरण भएमा भारत र चाइनाका पर्यटकको पोखरामा बसाई लम्बाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button