‘टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक’
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उहाँले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू एक अर्ब छुट्टाएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताउनुभएको हो ।
यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
टोखा–छहरे सुरुङ मार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभई रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा महतले बताउनुभयो ।
पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापारका लागि यो बाटो सबैभन्दा छोटो हुने उहाँको भनाइ छ । त्यस्तै ढिकुरे र सिम्ला सिँचाइ आयोजना पनि सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्