तपाईँ सुन्दै हुनुहुन्छः

भातको डल्लो उफ्रिएपछि प्लाष्टिक मिसिएको दाबी

पर्वत पर्वतको कुश्मामा एक उपभोक्ताले किनेको चामलमा प्लाष्टिक मिसिएको शंका गरिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ मेलमिलाप चोकमा रहेको स्थानिय प्रेम जैशी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लाष्टिकको भएको शंका गरिएको छ ।

पकाएको चामलको सिता पोको पारेर भुईमा पछार्दा बल जस्तै उफ्रिएपछि चामलमा प्लाष्टिक मिसिएको दाबी गरिएको छ । तर, विधि विज्ञान प्रयोगशालामा परिक्षण नगरे सम्म यथार्थतामा प्लाष्टिक मिसिएको हो वा हैन भन्ने पुष्टि हुन्छ ।

गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय ससंकित भएका छन् । चामलको डल्ला पारेर उफार्नेहरुले प्लाष्टिक मिसिएको आशंका गरेपनि परिक्षण नगरि धारणा बनाउन नसकिने उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

पर्वतमा खाद्य परिक्षण प्रयोगशाला नभएका कारण वागलुङ स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मार्फत जाँच गर्न पठाइएको शर्माले बताउनुभयो । चामलमा कैफियत भेटिएपछि जिल्ला प्रशासन कार्यलय र उद्योग बाणिज्य संघको टोली पुगेर चामल नियन्त्रणमा लिएको छ ।

टोलिले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर बिभागमा अनुसन्धानको लागि पठाएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदिले जानकारी दिनुभयो । शंकास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा विक्रिका लागि रोक समेत लगाईएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो कैफियत भेटिएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button