दशैँसम्म बत्ती बाल्ने गरी चुकेनी जलविद्युतको काम तीव्र गतिमा हुँदै

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा निर्माणाधीन चुकेनी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लालाई नै उज्यालो बनाउने उद्देश्यले निर्माण सुरु भएको करिब १ मेगावाट (९९८) किलोवाट क्षमताको आयोजना निर्माणले अन्तिम रूप लिएको हो ।
जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बत्ती भरपर्दो नहुँदा स्थानीय जलविद्युत उत्पादनमा सरोकारवालाले जोड दिँदै आएका छन् । जसअन्तर्गत पातारासीमा बन्दै गरेको चुकेनी जलविद्युत आयोजना निर्माणमा सबैले चासो राखेका हुन् ।
आफ्नै स्थानीय जलविद्युत उत्पादनमा आत्मनिर्भर नभई जिल्लामा बत्ती अभावको समस्या हल नहुने जिल्ला समन्वय समितिको प्रमुख गौरीनन्द आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो,“चुकेनी जलविद्युत हाम्रो गौरबको आयोजना हो । यसलाई जुन नेताले सुरुवात गरेपनि आयोजना निर्माणलाई गति दिन सबै सचेत नागरिकले चासो राख्नु राम्रो हो । राष्ट्रिय बत्ती भरपर्दो नभएको जुम्लामा स्थानीय बत्तीलाई नै प्राथमिकता दिनुको विकल्प छैन ।”
चुकेनी जलविद्युत आयोजना आगामी दशैँ सम्म बिजुली उत्पादन हुने गरि आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । यद्यपि २०७६ साल जेठ १० गते सम्झौता भई निर्माण सुरु भएको आयोजना करिब ३ वर्ष अलपत्र अवस्थामा रहेको थियो ।
सरोकारवालाको सक्रियताले पुनः आयोजनाले गति लिँदा आउँदो दसैँमा बत्ती बाल्ने आशा जागेको छ । ०७६ साल जेठ १० मा सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्नु पर्ने भएपनि विविध कारणले हाल सम्म पछि धकेलियो ।
चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का फेवा कन्स्ट्रक्सन प्रा.लि. पोखराले लिएको थियो। उसले स्थानीय स्तरमा मेगा हाइड्रो एण्ड इन्जिनियरिङ मार्फत् काम गरिरहेको छ । तर पछिल्लो डेढ वर्षबाट आयोजनाले गति लिँदा आउँदो दसैँमा नै बिजुली उत्पादन हुने गरि काम भइरहेको भण्डारी मेगा हाइड्रोका प्रबन्धक चन्द्र भण्डारी बताउनुभयो ।
उहाँले भन्नुभयो,“सुरुको दुई वर्ष कोभिडका कारण काम हुन सकेनन् । जोखिमका बिच काम गर्ने चाहेपनि कामदार भेटिएनन् । यतिबेला जनशक्ति थपेर पनि काम गरिरहेका छौँ । क्यानल र पावर हाउसको काम पूरा भइसकेको छ । दसैँसम्ममा सबै काम सकिएर बत्ती बल्छ । ढुक्क हुनुहोस् ।”
निर्माण पक्षले दशैसम्म बिजुली उत्पादन हुने दाबी गरेसँगै दसैँमा जुम्ला झिलिमिली हुने चियोचर्चा सुरु हुन थालेको छ । केही समय अघि सम्म आशा मारिसकेको आयोजनाले पछिल्लो समय गति लिएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“अब भने आशा पलाएको छ । विगतमा कछुवा गतिमा भएको निर्माण कार्य यतिबेला भने द्रुत गतिमा भइरहेको छ । जुम्लामा बिजुलीको माग बढ्दो छ । ११ केभी प्रसारण लाइनको दुरी लामो झण्डै साढे तीन सय किलोमिटर हुँदा राष्ट्रिय लाइन भरपर्दो छैन । चुहावट धेरै छ । बेलाबेला बत्ती जाने समस्या उस्तै छ । जनशक्ति खटिएपनि बत्ती नियमित हुनै मुस्किल छ । त्यसैले जुम्लाको माग र आवश्यकतालाई चुकेनी आयोजनाले पूर्ति गर्ने अपेक्षा छ ।” यद्यपि राष्ट्रिय प्रसारण लाइनको बत्ती नियमित गर्न विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाको टिम नियमित खटिरहेको छ ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १८ महिनामा सकिने आयोजना साढे तीन वर्षपछि बन्ने पक्का भएको छ । आयोजनाको कामलाई प्रभावकारी बनाउन स्थानीय २५ जनाको समिति नै बनाए पश्चात् कामले गति लिई बिजुली उत्पादन हुने स्थितिमा आएको स्थानीय रुपा बुढाले बताउनुभयो ।
कुल ४३ करोडको आयोजनामा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ भने १३ करोड पालिका र स्थानीय जनताको लगानी रहेको छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको शेयर लगानी समेत गरेका छन् ।
यसैबीच केहिदिन अघि कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले समेत आयोजनाको अनुगमन गरि चाँडो काम सक्न निर्देशन दिएका छन् । जुम्लाको बिजुली अभावको समस्यालाई चुकेनी आयोजनाले समाधान गर्ने उनको भनाई छ ।
जुम्ला सदरमुकामलाई मात्र एक मेगावाट बत्ती आवश्यक छ । राष्ट्रिय बत्ती भरपर्दो छैन । त्यसैले स्थानीय उत्पादनमा सरोकारवालाले जोड दिएका छन् । पर्याप्त बत्ती नभएकै कारण करोडौँ लगानी कोल्डस्टोर प्रयोग मात्र भएको छैन । जुम्लामा राम्रो लगानी उद्योग धन्दा समेत खुल्न सकेका छैनन् । भने भएका उद्योगहरू पनि सञ्चालन हुन सकेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्