तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की दोस्रो पटक नियुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतको हिजोको फैसलासँगै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा आजै आयोजित समारोहमा प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले आजै तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

उहाँले तिलकुमार मेन्याङलाई खानेपानी सिचाई तथा ऊर्जा, पाँचकर्ण राईलाई पर्यटन वन तथा वातावरण, एकराज कार्कीलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा तथा सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । 

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । 

सर्वोच्चले बिहीबार प्रदेश प्रमुखको नाममा संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गर्न ४८ घण्टाको समय दिएको थियो ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित सर्वोच्चको पूर्ण इजलासले परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button