तपाईँ सुन्दै हुनुहुन्छः

पृतनापति समन्वयात्मक बैठकमा उपप्रधानमन्त्री खड्काको सम्बोधन

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताउनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याइरहेको योगदानबाट प्राप्त उपलब्धि र ख्यातिको समेत उहाँले प्रशंसा गर्नुभयो ।

रक्षामन्त्री खड्काले देशका रणनीतिक तथा संवेदनशील क्षेत्रको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रूपमा रहेको ‘साइबर स्पेस’ सुरक्षार्थ भएका पहल तथा सुझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुनसक्ने परिस्थिति, सुरक्षा खतरा तथा चुनौती, पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास एवं जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयको सम्बोधन लगायत क्षेत्रमा चुनौती देखिएको बताउनुभयो ।

उहाँले विभिन्न विषयलाई राष्ट्रिय मुद्दाको रूपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खलबल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील तत्त्वहरूलाई सेनाले राष्ट्रिय सुरक्षाको प्रमुख र प्राथमिक चुनौतीको रूपमा लिई काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सदैव सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताउनुभयो । समग्र देशको परिस्थिति र परिवेशको विश्लेषण गर्दै अन्तर सुरक्षा निकायबीच सूचना आदानप्रदान गरी भावी सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक रहेको प्रधानसेनापति शर्माले बताउनुभयो ।

कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापति लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखको सहभागिता थियो । बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवं सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button