तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्र विकास कोषद्वारा बनकाली पार्किङ ठेक्का रद्द

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बनकाली क्षेत्रमा रहेको पार्किङको ठेक्का रद्द गरेको छ ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो । पशुपति क्षेत्र अन्तर्गत बनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्त्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लिले सम्झौता पालना नगरेको भन्दै ठेक्का रद्द गरेको हो । 

सम्झौता अनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नुका साथै अन्य थुप्रै नियम उल्लङ्घन गरेको भन्दै कोषले एक महिना भित्र बक्यौता उठाउने सँगै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्त्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लि.को बैङ्क ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको छ ।

ठेक्काको सम्झौताको शर्त नं. ६ मा “बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ । तोकिएको समयमा भाडा नबुझाएमा सम्झौता रद्द गरी धरौट रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ ”भन्ने उल्लेख भएको छ ।

कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मिति सम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय १९ रहेको देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button