तपाईँ सुन्दै हुनुहुन्छः

जनताको हितमा काम गर्न जनप्रतिनिधिलाई नेता सिटौलाको निर्देशन

भद्रपुर, झापा । नेपाली कांग्रेसका नेता, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गरिबीको रेखामुनि रहेका जनताको हितलाई ध्यानमा राखेर परिवर्तनको अनुभूति दिलाउने गरी कार्य गर्न पार्टीबाट निर्वाचित झापाका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

आज झापाको बिर्तामोडमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र तहगत सभापतिहरूसँग गरिएको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले व्यवस्था परिवर्तनपछि जीवनस्तर सुधारको पूर्ण प्रत्याभूति दिन नसके व्यवस्थाप्रति नै वितृष्णा पैदा हुने हुँदा जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

झापाका निर्वाचित जनप्रतिनिधिहरूले कतिपय कानुनी जटिलताका कारण राज्य व्यवस्था परिवर्तनपछि पूर्ण रुपमा जनताको अपेक्षा पूरा गर्न नसकिएको बताउनुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद लख्खीदेवी गणेश, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशी, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहलगायतले आफ्नो क्षेत्र तथा पालिकामा भइरहेका कामहरूका बारे जानकारी गराउनु भएको थियो ।

झापामा नेपाली काँग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिको कार्यक्रममा सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button