तपाईँ सुन्दै हुनुहुन्छः

सेती नदीमा ९४ करोडको लागतमा दुई वटा अत्याधुनिक पुलको निर्माण कार्य सुरु

पोखरा । पोखराको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि अत्याधुनिक डिजाइनका दुई वटा पक्की पुलको निर्माण कार्य सुरु भएको छ । पोखराको सेतीनदी माथि टावर सहितको दुई वटा पक्की पुल निर्माण गर्ने कामको सुरुवात भएको रसुवा कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । 

उक्त पुल निर्माणको जिम्मा पाएसँगै कम्पनीले सो पुलको डिजाइन समेत स्वीकृत गरी हाल पोखरा रंगशालाको उत्तर तर्फ क्याम्प नै खडा गरी मेसिनहरू सहित निर्माण सामाग्री तयारी अवस्थामा राखेको कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाले बताउनु भयो ।

विगत डेढ हप्ता देखि हाल रंगशालाको उत्तरी क्षेत्रमा निर्माण हुने पुलको भागमा क्लियर गर्ने काम जारी रहेको प्रतिनिधि देवकोटाले बताउनु भयो । नेपालमा बनेका पुलहरू मध्य नितान्त फरक प्रकृतिको पुल निर्माण हुने भएको उहाँको दाबी छ । उहाँका अनुसार हाल निर्माण हुने उक्त पुलको बिचको स्पाम १ सय ४० मिटर, फुटपाथको क्षेत्र २५/२५ मिटरको स्पाम क्षेत्रफल राखी १ सय ९० मिटरको पुल निर्माण हुने भएको कम्पनीका प्रतिनिधि देवकोटाले उल्लेख गर्नु भयो । उक्त पुल निर्माणको लागि कोत्रेबाट ल्याउने गिटी र वालुकाको समेत परिक्षण हुँदै गरेको कम्पनीले जनाएको छ । हाइ स्टेन्थको कंक्रिट निर्माण हुने भएकोले गर्दा केही समय पछि पुल निर्माण स्थलमा रेडिमिक्सचर राखेरै काम गर्नुपर्ने देवकोटाको भनाई छ ।

हाल सञ्चालनमा रहेको चाइना पुलको उत्तर र दक्षिण साइडमा दुई वटा पुल चाइना पुलकै लेबलमा निर्माण हुने भएको हो । गाडी गुड्ने भाग साँढे ७ मिटर फुटपाथको रुपमा भने दुवै पुलको ३/३ मिटरको क्षेत्र रहने भएको कम्पनीका प्रतिनिधि देवकोटाले उल्लेख गर्नु भयो । साँढे १० मिटरको पक्की पुल निर्माण हुने भए पनि केही भाग टावर सहित गर्दा १३ मिटरको उक्त पुल निर्माण हुने भएको देवकोटाले बताउनु भयो ।सेतीको भाग जोखिम होला भनेर आफूहरूले भने १ सय ४० मिटर लामो क्षेत्रमा जग राखेर उक्त पुल निमार्ण गर्ने उहाँले बताउनु भयो ।

उक्त परियोजना सेप्टेम्बर २०२२ मा सम्झौता भएको छ भने ३६ महिना समय सीमा भए पनि अबको दुई वर्षमा उक्त पुल निर्माण हुने तयारीका साथ काम सुरु भएको कम्पनी प्रतिनिधि देवकोटाले जनाउनु भयो । समय सीमा भित्र उक्त पुल निर्माण गर्ने कम्पनीले दाबी गरेको छ । पोखराको सेती नदीमा ९४ करोडको लागतमा दुई वटा पुल निर्माण भएसँगै चाइना पुल सहित अब ३ वटा पुलमा यातायात सञ्चालनमा सहज हुने भएको छ । उक्त पुल पोखराको लागि नौलो र सेल्फि ब्रिजको रुपमा निर्माण हुने भएको कम्पनीले जनाएको छ ।

यसैबिच पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै उक्त पुल जतिसक्दो छिटो निर्माण गर्न पोखरा महानगरले आवश्यक समन्वय गर्न तयार रहेको महानगरका मेयर धनराज आचार्यले बताउँदै आउनु भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button