पोखरामा २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्ती जडान
कास्की ।पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हाईमास्ट बत्तीले झिलमिल भएको छ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबार साँझ एक साथ २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पोखरा भित्र विद्युत् व्यवस्थापनका लागि धेरै काम सुरु गरिएको जानकारी दिनु भयो । उहाँले पोखरा महानगरले फोहोरबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको जानकारी पाएको भन्दै महानगरले यसरी विद्युत् उत्पादन गरे जति उत्पादन हुन्छ त्यो सबै प्राधिकरणले किन्ने प्रतिबद्धता जनाउनु भयो ।
महानगरका प्रमुख धनराज आचार्यले उज्यालो पोखरा अभियान अन्तर्गतको पहिलो चरण सकिएको र यसलाई सुरुवातको रुपमा लिनुपर्ने बताउनु भयो । पोखरामा विद्युत् वितरण प्रणालीलाई सहज गराउन महानगरको तर्फबाट गर्नुपर्ने सबै काम गर्न आफूहरू तयार रहेको उहाँको भनाई थियो । झ्याप्प झ्याप्प बिजुली जानुको कारण महानगरवासीले खोजिरहेको भन्दै विद्युत् प्रणाली सुधार गर्नुपर्ने भए सुधार गरेर भएपनि समस्याको समाधान गर्न उहाँले प्राधिकरणलाई आग्रह गर्नु भयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले क्षेत्रफलका हिसाबले देशमै ठूलो महानगर भएकाले खर्च पनि त्यही अनुरुप हुने बताउनु भयो । १४ करोड ६५ लाख रुपैयाँ लगानीमा नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरको ५०र५० प्रतिशत तिरेर जडान गरिएको हो । ती स्मार्ट बत्ती जडान गर्न टप्सन इनर्जीले ठेक्का पाएको थियो ।
राष्ट्रिय सडक बत्ती प्रवर्द्धन परियोजना प्रमुख प्रमोद रिजालका अनुसार सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएका छन् । उहाँले जोडिएका हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको जानकारी दिनु भयो ।
पोखरामा जडान गरिएको बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्