व्यवस्थाप्रतिको विश्वास जगाउनु सरकारको प्रमुख उपलब्धि : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउन सक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताउनुभयो ।
‘नेपाल ठूलो निराशातर्फ गइरहेको थियो र केहीले त्यसका लागि योजनाबद्ध पहल पनि अघि बढाएका थिए’, मन्त्री शर्माले भन्नुभयो, ‘ठूलाले जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुँदा निराशा बढिरहेको बेला वर्तमान सरकारले सुशासनको क्षेत्रमा थालेको ऐतिहासिक पहलका कारण जनताको विश्वास बढ्न गएको छ र सम्भवतः पहिलोपटक सरकार जनतासँग जोडिएको छ ।’
आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार सावा दिएर लाखौँ ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरूमाथि कारबाही थालिनु सुशासनको पक्षमा महत्वपूर्ण कदम भएको पनि उहाँले स्पष्ट गर्नुभयो । सत्ता र शक्तिमा पुगेकाहरूले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरूलाई पनि कानुनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानविन गर्न सार्वजनिक गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘छानबिनका क्रममा गल्ती भेटिए मलाई समेत नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन । उहाँले पार्टीभित्रका नेताहरूलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिनुभएको छ, यो चानचुने विषय होइन ।’
उहाँले अन्य दलजस्तै माओवादीका केही नेता कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको स्पष्ट गर्नुभयो । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका शर्माले भन्नुभयो, ‘हामी केही बिग्रेकै हो तर सप्रेका अरू दलभन्दा बिग्रेका माओवादीहरू धेरै अगाडि छन्, अहिले सुरु भएको तीन महिने अभियानले बिग्रेको क्षेत्रमा पनि सुधार गर्नेछ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । अहिले सरकारले महत्वपूर्ण काम गरे पनि पार्टीमा केही सुस्तता देखिएको उल्लेख गर्दै उहाँले ऐतिहासिक राजनीतिक परिवर्तनको श्रेय लिने गरी अभियानमा लामबद्ध हुन आग्रह गर्नुभयो । नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उहाँले नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
पार्टीले विकास निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले विचारसहितको विकासलाई जोड पनि आग्रह गर्नुभयो । शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति गर्ने धेयका साथ पार्टी अघि बढेकाले अब हरेक नेता कार्यकर्ताले संविधान, कानुन, बजेट निर्माण, कार्यान्वयन र मूल्याङ्कन प्रक्रियालाई ध्यान दिनुपर्ने बताउनुभयो ।
माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु हेमराज शर्मा, गुणेन्द्र घर्तीलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नगर सचिव भागीदास चौधरीले गर्नुभएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका १९ वटै वडाका नेतृत्वले रिपोर्टिङ गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्