तपाईँ सुन्दै हुनुहुन्छः

बदलिएको काँग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्छ : महामन्त्री थापा

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको काँग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै काँग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसलाई रूपान्तरण गर्नका लागि विसं २०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावमा उम्मेदवार छान्न आफ्नै तहका क्रियाशील सदस्यले मतदान गर्ने परिपाटी बसाउनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले २३ प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको स्वर्णिम कालमा मुलुकको समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाबाट नभएको गुनासो गर्नुभयो ।

पुराना र नयाँ राजनीतिक दलहरू मुलुकको भविष्य तथा जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ मा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको टिप्पणी उहाँले गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button