तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी पाण्डे सम्मानित 

इलाम I ‘नवराज शङ्कर स्मृति युवा प्रतिभा सम्मान–२०८०’ द्वारा  रेडियो नेपाल इलाम सम्वाददाता  सविता पाण्डे सम्मानित हुनु भएको छ । 

इलामका दलित अधिकारकर्मी तथा  राजनीतिकर्मी नवराज शंकरको स्मृतिमा स्थापना भएको नवराज शङ्कर प्रतिष्ठानले शनिवार एक कार्यक्रमका बिच पाण्डेलाई सम्मान पत्र , दोसल्ला र नगर पाँच हजार सहित सम्मान गरेको छ । 

२०६४ सालदेखि पत्रकारितामा सक्रिय पाण्डेले युवा महिला, दलित समुदाय, पछाडि परेका समुदायको मुद्धाहरु उठान गरी प्रेरणादायी युवाको रुपामा युवाहरूलाई प्रेरित गर्दै युवा लगायत समग्र सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका कोषाध्यक्ष सुरेश पोर्तेलले जानकारी दिनु भयो ।

स्वर्गीय शंकरको सामाजिक कार्यलाई निरन्तरता दिन प्रतिष्ठान मार्फत प्रयास गरिरहेको उहाँले बताउनु भयो । शंकरको ३६ औ जन्म जयन्तीको अवसरमा इलाम सदरमुकाममा  प्रतिष्ठानकी अध्यक्ष बिजु लकान्द्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

प्रतिष्ठानका सल्लाहकार देवेन्द्र विश्वकर्माले स्वर्गीय शंकरको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा इलाम नगरपालिका ५ का वडाध्यक्ष काजी बहादुर श्रेष्ठ , इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ , नेपाल पत्रकार महासङ्घ इलाम शाखा अध्यक्ष विप्लव भट्टराई लगायतले शंकरको योगदान अतुलनीय रहेको र उनको निधनले अपूरणीय क्षति भएको बताउनु भयाे ।

प्रतिष्ठानले इलाम नगरपालिका वडा नं. ५ मा रहेको नौमती बाजा बजाउने कलाकार समुहलाई नौमती बाजा सेट हस्तान्तरण  गरेको छ । नौमती बाजा लोभ हुदै गएको अवस्थामा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले प्रदेश सरकारको सहयोगमा बाजा उपलब्ध गराएको जनाइएको छ ।

शंकरको २०७८ सालमा कोरोना सङ्क्रमणको कारण ३४ वर्षको अल्पायुमा निधन भएको थियो । विद्यार्थी जीवनदेखि सक्रिय शङ्कर राजनीति , सामाजिक र जातीय विभेद विरुद्धको अभियानमा सक्रिय युवा नेताको रूपमा इलामेलीहरु माझ लोकप्रिय नेताको रूपमा परिचित रहनुभएकाे थियाे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button