तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज भंसारको राजस्व असुली झण्डै ३० प्रतिशतले गिरावट

 

बीरगंज । भारत तथा तेश्रो मुलुकबाट हुने गरेको आयात घटेपछि वीरगन्ज भंसार नाकाबाट हुने राजस्व असुली झण्डै ३० प्रतिशतले गिरावट आएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा वीरगंज भन्सार कार्यालयले कुल लक्ष्यको ७० प्रतिशत मात्र राजस्व असुली गरेको छ । वीरगंज भन्सारबाट आयात हुने बिलासी गाडी, पेट्रोलियम पदार्थ तथा क्लिकंरलगायत समानको आयात कम भएकोले राजस्व असुलीमा गिरावट आएको बीरगंज भन्सार कार्यालयले जनाएको छ ।

सवारी साधन तथा इन्धनको आयातमा गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव राजस्व असुलीमा परेको भन्सार कार्यालयले जनाएको छ । विगतमा पाप आयलको कच्चा पदार्थको आयात तथा भारतमा हुने निर्यातले राजस्वमा सकरात्मक प्रभाव परेपनि हाल भारतले रिफाईनरी आयलको निर्यातमा रोक लगाएपछि यसको प्रभाव राजस्वमा परेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिनुभयो ।

वीरगंज भन्सारले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त सम्म ९७ अर्ब ५२ करोड ६५ लाख १६ हजार लक्ष्य पाएकोमा ६८ अर्ब, ७७ करोड ३८ लाख ६९ हजार राजस्व असुली भएको वीरगंज भन्सारका सूचना अधिकृत विमलकुमार साहले जानकारी दिनुभयो ।

त्यसैगरी भन्सार कार्यालयले पुस मसान्तसम्म ४१ अर्ब ७६ करोड २२ लाख ७८ हजार भन्सार शुल्क वापत लक्ष्य पाएकोमा २९ अर्ब २६ करोड ७५ लाख ५६ हजार राजस्व संकलन गरेको तथा मूल्य अभिवृद्धि कर तर्फ २८ अर्ब ५६ करोड ७१ लाख ३७ हजार लक्ष्य पाएकोमा २० अर्ब ९३ करोड ९१ लाख २१ हजार मात्र राजश्व संकलन भएको वीरगंज भन्सार कार्यालयका प्रवक्ता साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button