तपाईँ सुन्दै हुनुहुन्छः

लेक लागेर बडीमालिकाको दर्शनका लागि गएका एक युवाको मृत्यु

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि गएका बाजुराका एक जना युवाको मृत्यु भएको छ । 

 जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार  मङ्गलवार राति ८ बजेर ४२ मिनेटमा बाजुराको त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो ।

बुढा अक्सिजन अभावका  कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तीर्थयात्रीका लागि सञ्चालन गरेको मेडिकल क्याम्पमा ,राखेर उपचार भएको थियो । क्याम्पमै उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय बाजुराका प्रहरी प्रमुख कभिन्द्र बोहोराले बताउनुभयो।

यसअघि लेक लागेर अक्सिजन अभाव भएपछि मङ्गलवार मात्र लडेर घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको हेलिकप्टरमार्फत उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै अक्सिजन अभावका कारण एक जना महिलाको पनि सेनाको मेडिकल क्याम्पमा अहिले उपचार भइरहेको बताइएको छ । अक्सिजन अभावका कारण कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया ईश्वरी बोहरा बिरामी भएपछि उपचार भइरहेको र उनको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरका लागि पहल भइरहेको  प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button