तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पनि गाईजात्रा पर्व मनाउने तयारी 

पोखरा । पर्यटकीय नगरी पोखरामा यही भदौ १५ गते गाईजात्रा पर्व मनाउने तयारी गरिएको छ । 

भक्तपुरबाट पोखरामा आई बसोबास गरेका ९५ प्रतिशत नेवारी समुदायले जनैपूर्णीमा पर्वको भोलिपल्ट शुक्रवार पोखरामा गाईजात्रा पर्व मनाउने तयारी गरेको नेवा: खलः कास्कीका अध्यक्ष अशोक पालिखे बताउनुभयो । 

गत वर्ष नेवारी समुदायका व्यक्तिहरूको निधन भएकाको स्मृतिमा पूजापाठसहित गाईजात्रामा तायाः मचाःसहितको गाई जात्रा प्रदर्शन गर्ने तयारी भएको उहाँले बताउनुभयो । 

२०५६ सालदेखि पोखरामा तयाः माचा नृत्य प्रतियोगिता निरन्तर रूपमा हरेक वर्ष विभिन्न टोलका तयाः मचा समितिहरूले आयोजना गर्दै आएको अध्यक्ष पालिखेले बताउनुभयो । 

यसबीच, यही भदौ १६ गते पोखरामा गाईजात्रा पर्वको अवसरमा तायाः मचा नृत्य प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता पोखरा महानगरपालिकासहित कास्कीका अन्य गाउँपालिका गरी पुरुषतर्फ २१ र महिलातर्फ भने ९ टिमको सहभागिता हुने भएको संयोजक कर्माचार्यले जनाउनुभयो ।

प्रतियोगिताको पुरस्कार राशिमा भारी वृद्धि गरिएको छ । रानीपौवा ताया गया नाच समितिको आयोजनामा हुने उक्त प्रतियोगिताको पुरस्कार राशिमा ३० हजारबाट वृद्धि गरी यस वर्षदेखि ३ लाख पुर्‍याइएको समितिले जनाएको छ । 

प्रतियोगितामा दोस्रो हुने समूहलाई २ लाख र तेस्रो हुने पुरुष तर्फको समूहलाई भने १ लाख र सान्त्वना हुने समूहलाई ३० हजार रुपैयाँ पुरस्कारको प्रदान गरिने भएको प्रतियोगिताका मूल संयोजक ईश्वर प्रसाद कर्माचार्यले बताउनुभयो । 

त्यसैगरी महिलातर्फ विजेता हुनेलाई भने खासै पुरस्कार राशिमा वृद्धि कम भएको छ । 

गत वर्ष महिलातर्फ को विजेतालाई ३० हजार नै रहेकोमा यस वर्ष भने ४० हजार प्रदान गरिने भएको प्रचार संयोजक सुभाष तझ्याले बताउनुभयो । प्रतियोगितामा दोस्रो हुनेलाई २० हजार तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ । 

यस वर्षदेखि प्रतियोगिताको लागि पोखरा तेसांपट्टी निवासी तीन दाजुभाइ रामकाजी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ र शङ्कर श्रेष्ठले आफ्ना आमाबुबा स्व. हेम कुमान बालकुमारीको स्मृतिमा १० लाख रकम सहयोग गर्नुहुने भएको छ । 

उहाँहरूले उपलब्ध गराएको उक्त रकम मध्ये प्रतियोगिताको पुरस्कारमा समेत खर्च हुने भएको प्रचार संयोजक तझ्याले बताउनुभयो । 

उक्त प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धन गर्न टेवा पुग्ने नेवा: खल कास्कीका अध्यक्ष पालिखेले दाबी गर्नुभयो । 

कार्यक्रमको मुख्य प्रवर्द्धकको रूपमा पोखरा महानगरपालिका, प्रवर्द्धकहरूमा पोखरा महानगरपालिका वडा नं. ११ र गण्डकी प्रज्ञा प्रतिस्थान रहेका छन् ।  

त्यसैगरी, मुख्य प्रायोजकमा बुद्ध एयर, प्रायोजकहरूमा मनिपाल कलेज, गण्डकी मेडिकल कलेज रहेको संयोजक कर्माचार्यले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button