नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै

मलेखु (धादिङ) । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ ।
सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो ।
नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।
यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजना प्रमुख ईश्वर रिजालले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको छ ।
एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिनुभयो ।
नेपाल सरकार र विश्व बैङ्कको ऋण सहयोगमा रु १२ अर्बको लगानीमा पृथ्वीराजमार्गको नागढङ्गा–मुग्लिन सडक खण्ड स्तरोन्नतिको काम थालिएको उहाँले बताउनुभयो । “नौबिसे नागढुङ्गामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ । पिचको काम बाँकी छ”, उहाँले भन्नुभयो ।
सडक विभागको तथ्याङ्क अनुसार पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक साना ठुला गरी करिब १५ हजार सवारी काठमाडौँ ओहोरदोहोर हुँदै आएका छन् ।
उकालो र घुम्तीले गर्दा सवारी जाम हुने स्थानमा दुई लेनको अतिरिक्त एक लेन थप्ने गरी काम भइरहेको योजना प्रमुख रिजालले बताउनुभयो । साना गाडीको पनि चाप हुने भएकाले बजार क्षेत्रमा चारदेखि छ लेनसम्म सडक चौडा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
आयोजनाका आयोजना पश्चिम खण्डका योजना प्रमुख किरण कार्कीका अनुसार भौगोलिक हिसाबले सहज भएका स्थानमा दुई लेनलाई नै व्यवस्थित गर्ने गरी काम भइरहेको छ । समग्रमा कम्तीमा नौ मिटरदेखि बढीमा ३० मिटरको चौडाइमा स्तरोन्नति हुने उहाँले जानकारी दिनुभयो । “नौबिसे र खत्रीपौवामा पुल बन्दै छ । नौबिसेदेखि मलेखुसम्ममा १६ पुल बन्नेछ”, उहाँले भन्नुभयो ।
सडकमाथि मेसिन चढाएर पहरा काट्नुपर्ने स्थानमा काम गर्दा माथिबाट ढुङ्गा माटो खसेर सवारीमा लाग्न सक्ने जोखिम भएकाले त्यस्ता स्थानमा सवारी आवागमन केही बेर रोकेर काम गर्ने गरिएको कार्कीले बताउनुभयो । बर्खाको समयमा धमाधम काम भइरहे पनि राजमार्गमा सवारी रोकेर काम गर्दा यात्रुले सास्ती बेहोर्नु परिरहेको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्