सरकार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

वीरगंज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकार मुख्यतः सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्न केन्द्रित रहेको बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त पहिचान भएकाले विविधतासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
उहाँले मिटरब्याजी विरुद्धको कानुन निर्माण, नक्कली भुटानी शरणार्थी प्रकरण संलग्नलाई कारबाही ललिता निवास र सुन तस्करी प्रकरणमा चलिरहेको अनुसन्धान लगायतका कामले नै सरकार सुशासनको दिशामा बढेको कुरा प्रष्ट भएको बताउनुभयो ।
उहाँले भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याई दोषीलाई कानुनी कठघरामा उभ्याउने दृढतासमेत व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले धरानमा गौर हत्याको विषयलाई लिएर भइरहेको पछिल्लो घटनाक्रम बारे गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको बताउनुभयो । उहाँले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले संविधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताउँदै पीडित पक्षसँग सरकारले गरेको ५ बुँदे सहमतिमा उल्लेख भए अनुसार घटनाका बेलामा परेका जाहेरी समेतको आधार बनाएर समग्र छानबिन गरि दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याएर सम्बन्धित निकायले यो प्रकरणलाई निष्कर्षमा पुर्याउने बताउनुभयो ।
रौतहटको गौरस्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरम बिच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत पीडित पक्ष र गृह मन्त्रालयबीच गत साउन २३ गते ५ बुँदे सहमति भएको थियो ।
गृहमन्त्री श्रेष्ठले गिरीबन्धु टि स्टेट प्रकरण बारे पनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताको पनि उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्