सडक कालोपत्रे नहुँदा रारा आउने पर्यटकलाई सास्ती
मुगु । कालिकोटको नाग्मदेखि मुगुको सदरमुकाम गमगढी सम्मको ९३ किलोमिटर सडक कालोपत्रे नहुँदा रारा ताल आउने पर्यटकका साथै स्थानीयलाई सास्ती भएको छ ।

कच्ची सडकबाट यात्रा गर्दा वर्षामा हिलोले सताउने र अरू बेला फुस्रो माटोले धुलाम्य हुने गरेको गाडी चालक र यात्रुहरू बताउँछन् ।

छायानाथ रारा नगरपालिका मुगुका नगर प्रमुख विष्णु कुमार भामका अनुसार कर्णाली राजमार्ग कर्णाली प्रदेश र संघीय सरकारको मातहतमा रहेको छ । गाडी पुगेको झण्डै ११ वर्ष हुँदा पनि सडक कालोपत्रे हुन सकेको छैन । सडक कच्ची भएका कारण पटक पटक गाडी दुर्घटना हुँदा धनजनको क्षति भइरहेको छ ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल, नेपाली भाषाको उद्गम थलो जुम्लाको सिञ्जा, धार्मिक हिसाबले प्रख्यात मुगुको छायानाथ र रिणमोक्ष मन्दिर, जुम्लाको चन्दननाथ मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको बाटो कर्णाली राजमार्ग नै भएकाले पनि नाग्म गमगढी सडक खण्डको चाँडै स्तरोन्नति हुनुपर्ने मुगुका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र ओखेडा बताउनुहुन्छ ।
सरकारले आगामी आर्थिक वर्षमा कर्णाली राजमार्गको नाग्म–गमगढी सम्म सडक पिच गरेको खण्डमा यात्रा सहज र छोटो हुनुका साथै पर्यटकहरूलाई समेत ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्