तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री 

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ । 

समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘यति बेला जनयुद्ध र मधेस आन्दोलनमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरूबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खास गरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठुलो प्रपञ्च भइरहेको छ ।” यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रूपमा लिएका प्रधानमन्त्री दाहालको भनाइ छ । 

प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उहाँले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पार्नुभयो । “सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।” 

विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्‍याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्‍याउने उहाँले बताउनुभयो । 

यसबाहेक सरकारले मधेसमा ठुलो समस्याको रूपमा देखिएको मिटरब्याजी पीडितहरूको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहालले चर्चा गर्नुभयो । मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उहाँले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गर्नुभयो । 

मधेस प्रदेशलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठुलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै उक्त निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । मधेसमा सिँचाइ गर्न सुनकोसी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले निजगढ–काठमाडौँ फास्ट ट्रयाकको काम छिट्टै सम्पन्न हुने बताउनुभयो ।

लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तीन वटै ऐन पारित गराइ कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो । संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको  उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थित रूपमा संशोधन गर्न सरकार, सदन र सडक तीन वटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको जिकिर गर्नुभयो ।  

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अझै संविधानको अपब्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको उल्लेख गर्नुभयो । 

जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्धि मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको उल्लेख गर्नुहुँदै मोर्चाका अध्यक्षसमेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, “अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नगरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौँ ।” देशमै स्वरोजगारी सिर्जना कामलाई तत्काल अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । 

वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने अध्यक्ष नेपालले उद्घोष गर्नुभयो । वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्नुहुँदै उहाँले सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव दिनुभयो । 

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताउनुभयो । बलिदानीबाट प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको उल्लेख गर्दै उहाँले सङ्घीयता मजबुत बनाउनु र सुशासन कायम गर्नु मोर्चाको लक्ष्य भएको बताउनुभयो । 

मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्दा पनि मधेसी लगायतका उत्पीडित वर्ग, समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको गुनासो उल्लेख गर्दै उहाँले समावेशिताको नाममा केवल बाध्यात्मक कुरालाई मात्र कार्यान्वयन गरिँदै आएको दाबी गर्नुभयो । 

मधेसको विकासविना मुलुकको विकास सम्भव नभएको जिकिर गर्नुहुँदै अध्यक्ष यादवले मधेसमा सञ्चालित योजना समयमा सम्पन्न नहुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपाली विशेषतायुक्त समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यका साथ मोर्चा बनाएको बताउँदै दलाल पुँजीवादले मुलुकलाई निकास दिन नसक्ने भएकाले त्यसका विरुद्ध समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको दाबी गर्नुभयो । 

नेपालको मौलिकता र संस्कृतिमाथि भूमण्डलीकृत साम्राज्यवादी शक्तिहरूबाट हमला भइरहेको जिकिर गर्दै उहाँले मुलुकलाई सङ्कटबाट मुक्ति दिलाउन र जनताको चाहना, इच्छा पूरा गर्न आफूहरूले मोर्चा बनाएको चर्चा गर्नुभयो ।   

कार्यक्रममा जसपाका नेता तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयताको कार्यान्वयन भए पनि प्रदेश सरकारले अझै संविधान प्रदत्त अधिकार पाउन नसकेको गुनासो गर्दै तत्काल प्रदेश सरकारलाई संविधानले दिएको अधिकार हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । 

मधेस प्रदेशस्तरीय मोर्चा घोषणा

समाजवादी मोर्चाले आज मधेस प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ । 

मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देश सभामा मोर्चामा आबद्ध चार वटै दलबाट तीन तीन जना रहने गरी १२ सदस्यीय मधेस प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको हो । 

मोर्चामा माओवादी केन्द्रबाट लिलामणि पोखरेल, अशोक जयसवाल र रामकुमार शर्मा, एकीकृत समाजवादीबाट धर्मनाथ साह, रामचन्द्र झा र सुधिर साह, जनता समाजवादी पार्टीबाट लालबाबु राउत, शैलेन्द्रप्रसाद साह र हरिनारायण यादव र नेकपाबाट सुदर्शन सिंह, विनोद सिंह र रामकुमारी सिंहलाई राखिएको छ । 

प्रदेशस्तरीय मोर्चाको संयोजक छ/छ महिनामा फेरिने र पहिलो कार्यकालका लागि प्रदेश संयोजकको जिम्मा जसपालाई दिइएको माओवादी केन्द्रका नेता प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button