तपाईँ सुन्दै हुनुहुन्छः

दारको संरक्षणका लागि पकेट क्षेत्र बनाउने तयारी

मकवानपुर । दारको ठेकीका लागि प्रख्यात मकवानपुरमा अहिले दार प्रजातीका बिरुवा नै करिब नगण्य र लोप हुने अवस्थामा पुगेको छ । कुनै समय मकवानपुरमा बनेका ठेकी देशभरि बिक्री हुन्थे र मानिसहरू खोजिखोजी मकवानपुरे ठेकी लिन आउँथे तर अहिले यो लोप हुने अवस्थामा पुगेको छ । 

यसै तथ्यलाई मध्यनजर गरेर मकवानपुरका डिभिजन वन कार्यालयहरूले यसको प्रवर्धन गर्न अभियान नै सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत दारका बृक्षारोपणसंगै मकवानपुरको पहिचान दारलाई स्थापित गर्न मकवानपुरका दुवै डिभिजन वन कार्यालयहरू लागेका छन् । यसका लागि डिभिजन वन कार्यालय राप्तीले पकेट क्षेत्रकै रुपमा विकास गर्ने गरि भीमफेदी १, बुङदलस्थित दरबार डाँडा सामुदायिक बनमा अघिल्लो वर्षदेखि नै काम सुरु गरेको छ । डिभिजन वन कार्यालय मकवानपुरले केही दिन अगाडी मात्र १ हजार वटा दार प्रजातीको बिरुवा वृक्षारोपण गरेको छ । 

“मकवानपुरको चिनारी दारको संरक्षणका लागि भीमफेदी १, बुङदल, स्थित दरबार डाँडा सामुदायिक बनमा गत असारमा ६५० दारको बिरुवा रोपन गरेका थियौ, यो आवको कार्यक्रममा पुनः ८५० दारको बिरुवा रोपन गरेर यसलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य छ ।” डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले भन्नुभयो । उक्त क्षेत्रमा योजना बनाइ यसलाई अध्ययन, अनुसन्धानको क्षेत्र समेत बनाउने अभियानमा रहेको उहाँले बताउनुभयो । 

उहाँले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातीका बिरुवाहरू रहेको बताउँदै मकवानपुरकै चिनारीका रुपमा रहेको दारको संरक्षण गरी लोप भएको दारको ठेकीको पहिचान बचाउन सबैलाई आग्रह गर्नुभयो । विश्वमा धेरै प्रजातीको बिरुवा लोप हुँदै गएको र यसले मानिसलाई सङ्कटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक भएको भन्दै उहाँले दारको संरक्षण गरि मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नुपर्ने समेत बताउनुभयो । 

दार के हो ?
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन Urticaceae परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पति शास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर राखिएको हो ।

यो एक सानो देखि उचाइमा ३० फिट सम्म हुने मध्यम आकारको सदाबहार रुख हो । यसको पात लाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीन वटा मुख्य नशाहरू र पातको किनारामा दाँतीहरू रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरू हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाइको हुन्छ । यसको बोक्राको रङ्ग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुरभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरू फाटेको हुन्छ ।

यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रङ्गको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुवै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander), सुक्खा खप्ने (Draught Hardy), तुसारो नसहने (Frost Tender) र पानी नजम्ने , हल्का भिरालो स्थानमा राम्रो सँग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएता पनि ठुलो रुख भएपछि कम मुना मात्र दिन्छ ।

दारको भौगोलिक वितरण (Geographic Distribution)
वन विभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाइमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरूमा पाइन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाइको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ । 

दार पाइने मुख्य स्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशूली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङको चुरे क्षेत्र, सल्यान, जाजरकोट, सुर्खेत, र डोटी र डडेलधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।

दारको उपयोगिता

यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाइने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्य प्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरू तुलनात्मक रुपमा हलुका र सहज हुन्छन् । 

यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरू जस्तै कप, प्लेट, हर्पे, दुधेरो (दूध दुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि बनाउन प्रयोग गरिन्छ । यी काठका भाँडाकुँडामा खाद्य वस्तु भण्डारण गरेमा खाद्यवस्तुको स्वाद राम्रो हुने र दही राम्रोसँग जम्ने विश्वास गरिन्छ ।

यसको अर्को अत्यधिक प्रयोग डाले घाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जङ्गलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्त्व पनि रहेको छ ।

यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाउ चाँडै निको गराउनमा प्रयोग गरिन्छ । यसको बोक्रामा हुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरूले यसको प्रयोग गर्ने गरेको पाइन्छ । 

त्यसै गरी यसको पातलाई कुटेर पेस्ट बनाई धाउमा र हातखुट्टा भाँचिएकोमा र मधुमेह रोगको परम्परागत उपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमशः कम हुदैंछ । साथै यो कमजोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनर्स्थापनामा निकै उपयोगी मानिन्छ ।

दारको प्रसारण विधि र खेती बिस्तार (Propagation and Cultivation)

यसको बीउ असोज देखि पौष महिनाको बीचमा पाक्ने गर्दछ । यसको बीउ हलुका र १ मिलिमिटर (सानो बिउ) सम्मको हुन्छ । यसको नर्सरी प्रविधि अन्य धेरै मसिना बीउ हुने वन प्रजातिको बिरुवा उत्पादनसँग मिल्दोजुल्दो रहेको छ । बिउ सङ्कलन गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवा मिक्स गरेर वा ट्रे मा बालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ ।

सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने । पानीको ठुलो थोप्ला भएमा भाँचिने र मर्ने हुन्छ । बढी पानी भएमा बिउ बगाउने र सानोमा नै बिरुवा मर्ने डर हुन्छ । सानोमा बिरुवा अत्यन्त सानो उम्रने हुँदा निकै स्याहार गर्नुपर्ने हुन्छ । 

यो प्रजातिको प्रसारण कलमी हाँगा कटिङ विधिबाट समेत गर्न सकिन्छ । पछि बिरुवालाई स्थानीय माग अनुसार साना वा ठुला पोलिथिन ब्यागमा सारेर वृक्षारोपण स्थलमा लगेर रोप्ने तर यो बिरुवालाई गाईबस्तु र जङ्गली जनावरबाट जोगाउन सुरुमा नै बारबेरको राम्रो व्यवस्था गर्नु पर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button