तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको लामाचौरमा भदौ ३० देखि राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरा । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा यसवर्ष पनि महिला तथा पुरुष तर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । 

नव आदर्श सामुदायिक विकास  समाज लामाचौरको आयोजनामा यही भदौ ३० देखि असोज १ गते सम्म लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता २०८० हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो ।

उक्त प्रतियोगितामा महिला तर्फ ५ र पुरुषतर्फ पनि ५ टिमको सहभागिता हुने उहाँले उल्लेख गर्नु भयो । तिजको अवसरमा हुने लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला तथा पुरुष गरी कुल १० टिमको सहभागिता हुने भएको छ । 

प्रतियोगितामा महिलातर्फ ३ विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमण्ड  एकेडेमी र न्यू एभरेष्ट भलिबल क्लब बुटवलको सहभागिता हुने तयारी गरिएको समाजले जनाएको छ । 

त्यसैगरी पुरुष तर्फ भने पनि ३ विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश र मणीमुकुन्द क्लब बुटवलको सहभागिता हुने तयारी गरिएको अध्यक्ष भण्डारीले जनाउनु भयो । राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । 

त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको अध्यक्ष भण्डारीले बताउनु भयो । समाजले लामचौर तिज महोत्सवको अवसरमा उक्त भलिबल प्रतियोगिता विगत लामो समय देखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ । समाजले महोत्सव सहितको भलिबल प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग सङ्कलन गर्ने अभियानमा हाल लागि रहेको पूर्व अध्यक्ष बुद्धि बहादुर खत्री क्षेत्रीले बताउनु भयो । तिज पर्वमा आफूहरूले समाजमा रहेका युवाहरूलाई खेलकुदको माध्यमबाट समाजमा केही परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि खेलकुदलाई निरन्तरता दिँदै आएको उहाँले जनाउनु भयो । 

समाजले भलिबल प्रतियोगिता सँगै अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूह तिज गीत प्रतियोगिता, सितोरियो कराँते प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमहरू लगायतका कार्यक्रमहरू गर्न करिब ५० लाख खर्च लाग्ने समाजले जनाएको छ । इन्द्रराज्य लक्ष्मी माविको परिसरमा हुने लामाचौर तिज महोत्सवको अवसरमा विभिन्न खेलकुदको साथमा अन्य मनोरञ्जनका कार्यक्रमहरू समेत हुने भएको पूर्व अध्यक्ष संजय अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button