कागबेनीमा बाढीका कारण ५ करोडको आश्रम सहितको भौतिक संरचनामा क्षति
साधु सन्त र बिखर्ची भक्तजनहरूलाई भोजन र आवासमा समस्या

पोखरा । पितृ कार्यको लागि अति नै प्रसिद्ध तीर्थस्थल कागबेनीमा अब देखि जाने साधु सन्त र बिखर्ची भक्तजनहरूलाई भोजन र आवासमा भने समस्या हुने भएको छ ।
विगत साँढे ३ दशक देखि कागबेनीमा स्थापना भएको कागबेनी तीर्थस्थल (धर्मशाला) गत साउन २९ गते आएको बाढीले बगाएसँगै अब कागबेनी जाने साधु सन्त र बिखर्ची भक्तजनहरूलाई भोजन र आवासको लागि आफै व्यवस्था गर्नुपर्ने भएको छ ।
मुस्ताङको बारामुँड मुक्तिक्षेत्र गा.पा.४ कागबेनीमा आएको भीषण बाढीका कारण स्थानीय बासिन्दाहरूलाई पुगेको क्षतिको खबरले आफूहरू अत्यन्तै दुःखी भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुक्तिनाथ पीठाधीश्वर स्वामी श्रीमुक्तिनाथ बाबाले बताउनुभयो । मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड एवं तीर्थ श्राद्धको लागि कागवेनीधाममा जानुहुने महानुभावहरूको सेवा गर्ने पवित्र स्थल एवं भौगोलिक हिसाबले विकट मुस्ताङ जिल्लाको कागवेनीधाममा श्रीदेव मुक्तिनाथको सङ्कल्पगत नेतृत्वमा सहयोगीजनहरूको अथक प्रयासबाट धर्मशाला अतिथि आश्रम निर्माण भए पनि हाल बाढीले ध्वस्त पारेको उहाँले बताउनुभयो ।
उक्त बाढीका कारण अतिथिको आवासको सेवाका लागि आवश्यक पर्ने खाद्यान्न, बिस्तारा, सिरक डस्ना, कम्बल, सय जनाका लागि भोजन बनाउने ठूला–ठूला भाँडाहरू, ३० वटा सिलिण्डर, मन्दिरका बहुमूल्य गहना, चाँदीका भाँडाकुँडा लगायत सम्पूर्ण भौतिक संरचनाहरू करिब ५ करोड बराबरको सम्पत्तिको क्षति भएको स्वामी श्रीमुक्तिनाथ बाबाले बताउनुभयो ।
अखण्डज्योतिवावा स्वामी श्रीजी च्यारिटेबल ट्रष्टको माध्यमबाट ध्यानकुटी, अतिथि स्वागत गृह, हवनमण्डप, सभागृह, स्नानगृह, पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको समेत सहयोगमा हेलिकप्टरको माध्यमबाट मेटलहरू ढुवानी गरी बनाइएको गण्डकी सालग्राम मन्दिर लगायत अन्य भौतिक संरचनाहरू निर्माण भए पनि बाढीले बगाएको उहाँले बताउनु भयो । मुक्तिनाथ, दामोदरकुण्ड जाने आन्तरिक बाह्य पर्यटकहरूको लागि कागबेनी महत्वपूर्ण तिर्थ स्थल भएको स्वामी श्रीमुक्तिनाथ बाबाले बताउनु भयो ।
नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति र यस ट्रस्टका माध्यमबाट आफूहरूले आपत्कालीन राहत उपलब्ध गराउने तयारी गरिएको स्वामी कृष्ण प्रपन्नाचार्य (करपात्री) ले बताउनुभयो । उक्त क्षेत्रका बाढी प्रभावितहरूलाई संघ, प्रदेश र स्थानीय सरकारले उचित राहत उपलब्ध गराउन माग गरिएको छ ।
नेपालको धार्मिक एवं पर्यटकीय तिर्थ स्थल कागबेनीमा पुगेको क्षतिको उचित राहत उपलब्ध गराउन माग गर्दै सामाजिक अभियान्ता महेश पराजुलीले आगामी दीनमा पुनः दुःखद् घटना नदोहोरियोस् भन्नका लागि नदीमा दीर्घकालीन तटबन्धनको समेत गरिदिन आग्रह गर्नु भयो ।
पूर्व सावधानीका कारण कागबेनीमा मानवीय क्षति हुनबाट बचेको हो । कागबेनीमा २९ घर पूर्ण क्षति, १५ घरमा आंशिक क्षति पुगेको छ भने प्रहरी चौकी, गुम्बा लगायतका विभिन्न संघ संस्थाका भवनहरू बढीले बगाएको छ । केही घरमा लेदो सहित आएको बाढीले पुरेको छ ।








प्रतिक्रिया राख्नुहोस्