रोल्पा नगरपालिकाले प्रयोगमा ल्यायो निःशुल्क सार्वजनिक शौचालय

रोल्पा । रोल्पा नगरपालिकाले लिबाङको मुख्य बजार क्षेत्रमा रहेको टुँडिखेल छेउमा निर्माण गरेको अपाङ्ग र बालबालिकामैत्री सुविधा सम्पन्न सार्वजनिक शौचालय निःशुल्क प्रयोगमा ल्याएको छ ।
बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा मानव शरीरबाट निष्कासन हुने विकार मलमूत्र व्यवस्थापन गर्नको लागि निकै नै समस्या हुने गरेको थियो भने सार्वजनिक शौचालय प्रयोगमा आएपश्चात् आम सर्वसाधारण नागरिकलाई सजिलो भएको छ ।
गाऊँ गाँऊबाट विभिन्न कामको लागि बजारमा सामान किनबेच गर्न गएका र सरकारी तथा गैरसरकारी संस्थाका साथै बैङ्कहरूमा पुगेका व्यक्तिहरू त्यसैगरी यातायातका सवारी साधनबाट ओर्लिएका यात्रुहरू, बटुवाहरूलाई शौचको लागि शौचालय प्रयोग गर्न सहजता भएको छ, शौचालय नहुँदा बजारमा रहेका होटेलहरू खोज्नुपर्ने बाध्यता थियो ।
करिब १५ लाख ६९ हजार ४ सय ६० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सुविधा सम्पन्न सार्वजनिक शौचालय अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै शौचालयको कोठा बनाइएको छ भने बालबालिका, महिला र पुरुषको लागि पनि छुट्टाछुट्टै शौचालयको कोठा बनाएर प्रयोगमा ल्याइएको छ ।
सार्वजनिक शौचालयको सरसफाइ तथा रेखदेख रोल्पा नगरपालिकाको ४ नम्बर वडा कार्यालयले गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्