काँग्रेसले गर्यो समाजवादी चिन्तक र बौद्धिक व्यक्तित्वका रुपमा स्वर्गीय गिरीको स्मरण

काठमाडौँ । नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको पहिलो वार्षिकीमा पार्टी केन्द्रीय कार्यालय सानेपामा स्मरण सभा गरेको छ ।
स्मरण सभामा बोल्दै नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले स्व. गिरीलाई समाजवादी चिन्तक र बौद्धिक व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।
सभापति देउवाले स्व. गिरीका लेखबाट सिङ्गो पार्टी नै लाभान्वित हुने भन्नुहुँदै उहाँका बाँकी कृति र लेखहरू प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताउनुभयो ।
महामन्त्री गगनकुमार थापाले गिरीको विचार पहिचान गर्न सकियो भने समस्या परेका बेला समाधान गर्ने आधार दिने भन्दै उहाँका विचारलाई पार्टीसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो ।
महामन्त्री थापाले स्वर्गीय गिरीले बिपीबारे विचार, लेख, रचना सङ्कलन र विश्लेषण गरी न्यायोचित ढङ्गबाट प्रयोग गर्ने काम गर्नुभएको स्मरण गर्दै उहाँका विचार र लेख, रचनालाई पनि नयाँ पुस्तामा लैजानुपर्नेमा जोड दिनुभयो ।
स्मरण सभामा स्व.गिरीका परिवारका सदस्यदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मले धारणा राख्नु भएको थियो ।
क्यान्सर र निमोनियाबाट पीडित गिरीको गत वर्ष २०७९ भदौ ४ गते उपचारका क्रममा निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्