पुस्तकालय व्यवस्थित गर्न समितिको निर्देशन

काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिंहदरबारभित्र एकीकृत पुस्तकालय स्थापना गर्न निर्देशन दिएको छ ।
समितिको आज संसद् सचिवालयमा बसेको बैठकले सिंहदरबार भित्रका विभिन्न मन्त्रालयमा स्थापना भएका पुस्तकालयलाई मर्ज गरी एकीकृत पुस्तकालय निर्माण गर्न तथा देशैभरका सार्वजनिक पुस्तकालयहरूलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पुस्तकालयको गुणस्तर वृद्धि गर्न ऐनको आवश्यकता भएको बताउनुभयो ।
राज्यमन्त्री प्रमिला कुमारीले देशैभर रहेका सार्वजनिक पुस्तकालयलाई डिजिटल पुस्तकालयका रुपमा विकास गर्न कर्मचारीहरूलाई सरकारले तालिकाको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बैठकमा सांसदहरुले ज्ञानको भण्डारका रुपमा रहेको पुस्तकालयहरू व्यवस्थित नहुँदा पठन संस्कृतिमा कमी आएको विचार व्यक्त गर्नुभयो ।
बैठकमा पुस्तकालय अभियानकर्मी यज्ञराज भट्टले पुस्तकालय पाठ्य सामाग्रीहरूको सङ्ग्रह भएकाले पाठकले लाइबेरिमा बसेर अन्तरक्रियात्मक रुपमा आफूले पढ्न चाहेको विषय पढेर ज्ञान हासिल गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्