मलमासका कारणले मिथिलाका मधुश्रावणी पर्व डेढ महिना चलेर सम्पन्न
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा नव विवाहिता कन्याले मनाउने मधुश्रावणी पर्व आज सम्पन्न भएको छ ।

पर्व साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि शुरु भएर यस पटक मलिमास परेका कारणले डेढ महिना चलेर आज सम्पन्न भएको छ ।
प्रत्येक २४ वर्षमा मलिमास पर्ने र यतिका दिनसम्म मधुश्रावणीको विधि गर्नुपर्ने प्रावधान रहने गरेको जनकपुरधामको वडा नंं ८ का पण्डित मदन झाले जानकारी दिनुभयो । अरू वर्ष साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्लपक्ष तृतीयासम्म १५ दिन चल्ने भए पनि यस पटक मलिमास भएकाले आजसम्म चलेका हो ।
मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामाग्री, लगाउने लुगा, सिन्दूर, पोते, गरगहना तथा डेढ महिनासम्म खाने खाद्यान्न सामाग्री तथा पूजाका लागि आवश्यक पर्ने अन्य सामाग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने त्यसबाट नै नव विवाहिता कन्याले खाने तथा पूजा गर्ने परम्परा रहेको छ ।

मधुश्रावणीमा नव विवाहित कन्याहरू समूहमा भेला भएर विभिन्न प्रकारको परम्परागत गीतसहित घर नजिकको सार्वजनिक उद्यान, बारी तथा धार्मिक स्थलमा भएको मठ मन्दिरमा रहेको फूलबारीबाट साँझ फूल टिपेर राति राख्ने र भोलिपल्ट बिहान सोही बासी फूलबाट शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने चलन रहेको छ ।
फूल टिप्ने कार्यलाई मिथिलामा “फूललोढी” भन्ने गर्दछन् । समूहमा नव विवाहित कन्याहरू नयाँ नयाँ रङ्गीचङ्गी लुगाहरू लगाएर हसिठट्टा गर्दै फूल टिप्ने गरेका कारणले मिथिलाञ्चल क्षेत्रको वातावरण नै यस वर्ष डेढ महिनासम्म नै रोमाञ्चित बनेको थियो । मधुश्रावणीको अन्तिम दिन श्रीमान् श्रीमतीसँगै बसेर विशेष पूजा गर्नुका साथै कथाइनबाट कथा सुन्ने चलन रहेको छ ।
कथालाई नवविवाहिता कन्या, बेहुलासहित घरका सदस्य, छरछिमेक तथा इष्टमित्रहरू बसेर सुन्ने गरेका छन् ।
पर्व सम्पन्न भएपछि आमाबुबा सहित घरका ठुलाबडाबाट आशिष लिने चलन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्